Logo

विगतमा माओवादी बनेर दुर्गा प्रसाईँले हैसियत बनाएः सोमप्रसाद पाण्डे



काठमाडौं, ५ मंसिर । नेकपा (एकीकृत समाजवादी पार्टी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले दुर्गा प्रसाईँले विगतमा माओवादी बनेरनै हैसियत निर्माण गरेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रसाईँले विगतमा माओवादीसँग नजिक भएर प्रभावमा पारेर व्यापारको परिस्थिति निर्माण गरेको बताएका हुन् ।
प्रसाईँको व्यापारिक पृष्ठभूमि पनि सफा नरहेको उनले बताए । ‘हिजो माओवादी केन्द्रसँग नजिक भएर, माओवादी केन्द्रको केन्द्रीय सदस्य भएर उहाँले एकखालको परिस्थिति निर्माण गर्नुभयो । उहाँ नेकपा (माओवादी) नभएको भए यो हैसियत बन्थेन । त्यहाँ आलोचना हुनथाल्यो, सम्भवतः पैसाका कुरा पनि उठ्नथाले । त्यसपछि उहाँ नेकपा (एमाले) बन्नुभयो,’– उनले भने ।

साथै, उनले नेपालमा अब राजतन्त्र कहिले पनि नफर्किने बताए । आगामी मंसिर ७ गतेको आन्दोलनमा प्रसाईँले तीस करोड खर्च गरेर आन्दोलनका लागि मान्छे ल्याउँछु भनिरहेको बताउँदै उनले राजसंस्थाको नाममा कुनै पनि जनता मनोभावनाले नआउने दाबी गरे । राजतन्त्र फर्किन्छ भन्ने विषयमा कसैले पनि टाउको दुखाउन आवस्यक नरहेको उनले बताए । प्रसाईँसँग राजतन्त्र, देशको शासन प्रणाली, विकास निर्माण लगायतका विषयमा कुनै भिजन र अध्यन नरहेको उनले बताए । प्रसाईँको हैसियत सबै नेपालीले चिनेको बताउँदै उनले भ्रममा नपर्न सबैलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्