Logo

विद्यार्थी पलायन ठूलो चुनौती भयो, युवा जनशक्तिसँगै देशको ढुकुटी पनि बाहिरियोः प्रधानमन्त्री दाहाल



काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थीहरुको विदेश पलायन देशको समस्याको रुपमा देखा परिरहेको बताएका छन् । आज (मंगलबार) ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ को उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले विद्यार्थी पलायनबाट युवा जनशक्तिसँगै देशको ढुकुटी पनि बाहिरिरहेको बताएका हुन् । उनले विद्यार्थीहरुको विदेश पलायन रोक्न शिक्षा नीतिलाई सकेसम्म युवा उपयोगी बनाउन आवस्यक रहेको बताए ।

विद्यार्थीलाई यहीँका विद्यालय, विश्वविद्यालयहरुमा अध्ययन गर्न प्रोत्साहन गर्ने र विदेशी विद्यार्थीलाई पनि नेपालका विश्वविद्यालयहरुमा अध्ययन गर्न आकर्षित गर्ने खालको शिक्षा प्रणाली लागू गर्न सकिएको खण्डमा मात्रै देशको पैसा बाहिरिने समस्याको अन्त्य भएर विदेशी मुद्रा भित्रिने अवस्था सिर्जना हुने उनको भनाई छ ।

प्रधानमन्त्री प्रचण्डले उक्त कुरा आजको भोलि पूरा गर्न सम्भव नभएपनि दीर्घकालीन रणनीतिसहित व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्न आवस्यक रहेको बताए ।

देशको समग्र शिक्षा प्रणालीलाई सरल, सहज, वैज्ञानिक, जीवनोपयोगी र आत्मनिर्भर बनाउने सवाल आजको सरोकारको विषय भएको उनले बताए । उच्च शिक्षाका निम्ति वर्षेनि लाखौं विद्यार्थीहरु विदेशिने परिस्थितिले शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक छ भन्ने कुरा पुष्टि गरेको उनको भनाई छ ।

शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा डरलाग्दो स्थिति भनेको युवा विद्यार्थीहरुको विदेश पलायन हो भन्ने कुरालाई सरकारले बुझेको उनको दाबी छ । विद्यार्थी देशबाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालयहरु खाली हुँदै जाने डरलाग्दो स्थितिलाई छिटै सम्बोधन गरी पलायनलाई राक्नु आजको सबैभन्दा ठूलो चुनौती भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्