काठमाडौं, ७ मंसिर । आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले संघीय लोकतान्त्रिक गणतन्त्र असफल भइसकेको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब संविधान बनाउने नेताहरुले जनतासँग माफी मागेर अन्तरिम सरकार गठन गर्नपर्ने बताएका हुन् ।
‘यो व्यवस्था त फेल भएकै हो । नेताहरुले जसले संविधान बनाए, उसले माफी माग्नुपर्छ । छाड्नुपर्छ र अन्तिरिम सरकार गठन गर्नुपर्छ । जनताको संविधान बनाउनुपर्छ । ओरिजिनल गणतन्त्र स्थापित गराउनुपर्छ,’– उनले भने ।
अहिलेको व्यवस्थामा ठूला दलका नेताहरु राजाजस्ता भएको उनको टिप्पणी छ । पार्टीतन्त्र, लुटतन्त्र र सीमित मान्छेहरुको मुठ्ठीमा रहेको शासन व्यवस्थालाई लोकतन्त्र गणतन्त्र मान्न नसकिने उनले बताए ।
‘अहिले भनेको पार्टीतन्त्र र लुटतन्त्र हो । पार्टीतन्त्र, लुटतन्त्र र मुठ्ठीभरका मान्छेको शासनलाई लोकतन्त्र, गणतन्त्र भनेर जनतालाई गुम्राह बनाउने अवस्था छैन । सात आठ वर्षमा मान्छेले हेरिसके । ठूला पार्टीका नेताहरु राजाजस्ता भए,’– उनले भने ।
आफूहरु जनताको शासन र जनताको हक अधिकारका लागि लडेको भएपनि त्यो पूरा नभएको उनको भनाई छ । अहिलेको शासनलाई लुटेराहरुको शासन भन्दा हुने उनको टिप्पणी छ । यो नक्कली गणतन्त्र भएको दाबी गर्दै उनले यसले देश र जनतालाई अगाडि बढाउन नसक्ने उनको दाबी छ ।