Logo

एमालेको प्रदर्शनप्रति राजन दाहालको टिप्पणीः ‘महेश बस्नेतको अराजकताको स्वामित्व केपी ओलीले लिनुभयो’



काठमाडौं, ७ मंसिर । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले नेकपा (एमाले) निकट राष्ट्रिय यु्वा संघको आन्दोलन सरकारविरुद्धको आन्दोलन नभएको बताएका छन् ।

हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारविरुद्धको आन्दोलनका लागि एमालेको कुनै मुद्दा र एजेण्डा नरहेको उनले बताए । आन्दोलनबाट महेश बस्नेतको अराजकतालाई एमाले अध्यक्ष केपी ओलीले स्वामित्व ग्रहण गर्न खोजेको उनको आरोप छ ।

‘अहिले सरकारविरुद्धको आन्दोलनभन्दा पनि सामाजिक अराजकता शृष्टि भएको छ । सरकारविरुद्धको आन्दोलन गर्न त व्यवस्थित ढंगले मुद्दा चाहियो, एजेण्डा चाहियो । एमाले सरकारविरुद्ध सडकमा आएको छैन ।’ उनले भने, ‘विशेषगरी महेश बस्नेतजीले जो अराजक गतिविधि गर्नुभएको छ, त्यो अराजक गतिविधिको स्वामित्व कमरेड केपी ओलीले लिनुभयो, लिन्छु भन्नु भयो । यसलाई आन्दोलनको रुपमा हामीले परिभाषित गरेका छैनौं ।’

दुर्गा प्रसाईँले सामाजिक सञ्जालमार्फत् अराजकता, उशृङ्खलता र आवेग पैदा गर्न खोजेको उनले बताए । हिजोका गणतन्त्र विरोधीहरुको प्रसाईँलाई समर्थन रहेको उनले बताए । प्रसाईँ नम्बरी ठग भएको उनले बताए । बैंक तथा वित्तीय संस्थाको सात अर्ब ऋण लिएर प्रसाईँले बदमासी गर्न खोजेको उनले बताए ।

‘अहिलेको सन्दर्भमा व्यवस्था विरोधी आन्दोलन गर्नसक्ने पात्र पनि होईन । पृष्ठभूमि पनि छैन । उहाँको आचरण पनि छैन, शिष्टाचार पनि छैन । आफैं बैंकको सात अर्ब ऋण नतिरेर नम्बरी ठग पात्रले अहिले फेरि सरकार विरोधी आन्दोलनको नेतृत्व गर्छ भन्ने आफैंमा हाँस्यास्पद छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot