Logo

ढिलै भएपनि आंशिक न्याय पाएँः प्रेम चलाउने



काठमाडौं, ८ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूले ढिलै भएपनि आंशिक न्याय पाएको बताएका छन् । हिजो (बिहिबार) सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफूले पाएको न्यायको असली हकदार पत्रकार, पक्षमा वहस गर्ने अधिवक्ता र सडक संघर्षमा होमिनेहरु रहेको बताएका छन् ।

उनले देशका कानुन मन्त्री लगायत केही कांग्रेसी नेताहरु अपराधी जोगाउन लागिपरे पनि आफूले न्याय पाएको भन्दै उनले खुसी व्यक्त गरेका छन् । न्यायका लागि सहयोग गर्नेप्रति आफू ऋणी रहेको बताउँदै उनले उक्त ऋण अब आफूजस्तै अन्यायमा परेकालाई सहयोग गरेर तिर्ने बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरूले २०७७ सालमा त्रिवि परिसरमै चलाउनेमाथि आक्रमण गरेका थिए। आक्रमणमा चलाउनेको खुट्टा भाँचिएको थियो । साथै, टाउको र छातीमा समेत चोट लागेको थियो।

आफूमाथिको आक्रमण गर्ने नेविसंघका नेता तथा कार्यकर्ताविरुद्ध चलाउनेले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए । जिल्ला अदालत काठमाडौंमा उक्त मुद्दा विचाराधीन रहेकै अवस्थामा सरकारी वकिल कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

सरकारी वकिलको निर्णयपछि चलाउने सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चको आदेश अनुसार फेरि चलेको हो ।

हिजो (विहीबार) काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोद कुमार खतिवडाको एकल इजलासले उक्त मुद्दामा फैसला सुनाउँदै कुटपिटमा संलग्न छ जनालाई जनही दुई वर्ष कैद र २८ लाख १७ हजार पाँच सय ३५ रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

उक्त घटनामा संलग्न हरि आचार्य, योगेन्द्र रावल, रुपेश साह, रविनकुमार लामा, निरज रानामगर र सयुज श्रेष्ठलाई जनही दुई वर्ष कैद सजाय सुनाइएको हो । घटनाका सहयोगी भनिएका दीपकराज ओझालाई भने अदालतले सफाइ दिएको थियो ।

अदालतको उक्त फैसलापछि उपप्राध्यापक चलाउनेले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

ढिलै भएपनि मैले आंशिक न्याय पाएको छु । यो म एक्लैले केहि गर्न सक्दैनथे । धेरैजना मित्रहरू यो उपलब्धिका असली हकदार हुनुहुन्छ । प्रीय पत्रकार साथिहरू, मेरा अधिवक्ता मित्रहरू, सडक संघर्षमा होमिने साथिहरू, माइतीघर मोर्चा, प्राज्ञिक जगत, मेरा सहकर्मी मित्रहरू, प्यारा विद्यार्थीहरू, देश बिदेशबाट उठेको सामाजिक सञ्जाल, आम न्यायप्रेमी जनसमुदाय, संसदमा आवाज बुलन्द पार्ने सांसद, मलाई साथ दिन आउनुभयो ।

देशको कानुनमन्त्री लगायत केहि कांग्रेसी नेता अपराधी जोगाउन अदालतमाथि नाङ्गो हस्तक्षेप गरिरहेका थिए । र यसको पबित्रतामाथि प्रहार गरिरहेका थिए । उनीहरू नाङ्गै थिए । न्यायलयभित्र मेरा अधिवक्ता तथा सरकारी वकिल, बाहिर खुला इज्लासमा पत्रकार मित्रहरू मेरा निम्ति सत्य र न्यायको दूत बन्नु भयो र न्यायको बहस पैरवी गर्नुभयो ।

तपाइहरूले गर्दा केहि हदसम्म अँध्यारोमाथि उज्यालो, असत्य र अन्याय माथि सत्य र न्यायको जित भएको छ । न्यायमूर्तिले पनि अदालतको शाख र गरिमा जोगाउनु भएको छ । बिपक्षीका वकिलप्रति मेरो भन्नु केहि छैन । कसैको बकिल बन्न पाउनु उहाँहरूको धर्म होला ।

तर, संस्थागत रूपमा डिएलए, जिल्ला बार, वा नेपाल बारको गरिमामय पदमा आसिन ब्यक्तित्व पार्टी वा कुनै भातृ सङ्गठनको भेषमा खुलेआम अपराध गर्ने गुण्डा जोगाउन आउने कुरा हाम्रो अहिलेको समयको सबैभन्दा ठूलो दुःखान्त हो । मलाई साथ दिने सबै मित्र तथा महानुभाव प्रति म हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तपाइहरूको म ऋणी छु । यो ऋण म जस्तै अन्यायमा परेकाहरूका निम्ति लडेर तिर्ने छु । यहाँहरू सबैलाई हार्दिक नमन ।



प्रतिक्रिया दिनुहोस्