Logo

दुर्गा प्रसाईँले चाहँदैमा गणतन्त्रको रौं पनि हल्लिदैन, अराजकता निस्तेज पार्न वाईसिएल अघि बढ्छः सुबोध शेर्पाली



काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का अध्यक्ष सुबोधराज शेर्पालीले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्छौं भन्नु दुर्गा प्रसाईँका समर्थकहरुको गम्भीर भूल भएको बताएका छन् ।

साथै, आज केही मान्छेहरुले यही व्यवस्थामा आफूलाई नेता स्थापित गराएर व्यवस्थाकै विरुद्ध बोल्ने कोशिस गरिरहेको भन्दै उनले आपत्ति जनाए । आज संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्न खोज्नेहरुलाई राजतन्त्रको बन्धन हेक्का नरहेको उनले बताए ।

‘यो व्यवस्था भन्दा अर्को उन्नत व्यवस्था अहिले नै खोजिहाल्ने पटमुर्खता गर्नु विभिन्न सेटिङवाला दुर्गा प्रसाईंका मान्छेहरूको गम्भीर भूल हो । आज केही मनुवाहरू जुन व्यवस्थामा हुर्किँदै आफूलाइ नेता हुँ भन्दै निर्भीक हिड्छन् यहि व्यवस्थामाथि धावा बोल्ने दुस्साहस गर्दैछन् । तिमीहरूलाई राजाको कालको एक बन्धन पनि हेक्का छैन,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

प्रसाईँजस्ता अराजकतावादीहरुले चाहँदैमा लाखौंको त्याग र हजारौंको बलिदानीबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्र फालिने त के रौं समेत नहल्लिने उनको दाबी छ ।

साथै, प्रसाईँले बैंकको ऋण तिर्न पर्दैन, कर तिर्न पर्दैन भनेर सोझासाझा नागरिकलाई भ्रममा पारेको उनले बताए । यो व्यवस्था र संविधानभन्दा माथि कोही पनि नरहेको बताउँदै अध्यक्ष शेर्पालीले नेपालको राष्ट्रिय गानको अपमान गर्ने प्रसाईँलाई राज्यले तुरुन्त कारबाही गर्नपर्ने बताए ।

उनले आन्दोलन र विरोध गर्ने अधिकार सबैलाई रहेपनि राजनीतिक नेतृत्व र व्यवस्था विरुद्धका सबै गतिविधिलाई वाईसिएलले प्रतिकार गर्ने बताए । कसैले गलत गतिविधि गर्ने कोशिस गर्छ भने त्यसलाई निस्तेज पार्न वाईसिएल सदैव तयार रहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्