Logo

दौरासुरुवाल र कोट लगाएर हिँडेका ८३ वर्षीय बृद्ध पक्राउ, दुर्गा प्रसाईँको समर्थक भएको आरोप



काठमाडौं, ८ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँको आन्दोलनमा समर्थन गरेको आरोपमा दोलखाका ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

दौरासुरुवाल र कोट लगाएर बाटोमा हिँडेकै भरमा प्रहरीले प्रसाईँको समर्थकको आरोपमा खड्गप्रसाद शिवाकोटीलाई पक्राउ गरेको उनको आफन्तले बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका शिवाकोटीका आफन्तले तत्काल उनको ससम्मान रिहाइको माग गरेका छन् ।

उनलाई प्रहरीले पक्राउ गरेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठको खुलेर आलोचना गरेका छन् ।

‘दौरासुरुवाल र कोट लगाएकै भरमा पक्राउ गर्ने हो भने बेला–बेलामा दौरा सुरुवालमा देखिने प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठजी तपाईहरुलाई किन हिरासतमा नलिने ?’ अयजबाबु शिवाकोटीले प्रश्न गरेका छन् ।

दौरासुरुवाल कोट लगाएर बाटोमा हिडेकै भरमा पक्राउ परेका ८३ वर्षीय खड्ग प्रसाद शिवाकोटीलाई तत्काल ससम्मान रिहाई गरेर नागरिकलाई ‘सिष्टम’ प्रतिको थोरै बाँकी बचेको विश्वास गुम्न नदिन उनले अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्