Logo

दुर्गा प्रसाईँको आजको प्रदर्शनस्थल सिफल चौर, सुरक्षा व्यवस्था कडा



काठमाडौं, ९ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले आयोजना गरेको आजको प्रदर्शन सिफलमा हुने भएको छ । सुरक्षा संवेदनशीलताको कारण देखाउँदै प्रसाईँलाई हिजो प्रशासनले घरबाट बाहिर निस्किन दिएको थिएन ।

घरबाट बाहिर निस्किन नपाएपछि प्रसाईँले आयोजना गरेको हिजोको कार्यक्रम विथोलिएको थियो भने प्रहरीले उश्रृङ्खल गतिविधि गर्ने उनका समर्थकहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रसाईँलाई घरबाट बाहिर निस्किन रोक लगाएर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको भन्दै सरकारको व्यापक आलोचना भएको थियो । सरकारको आलोचना भएपछि आज भने प्रसाईँलाई गौशला नजिकैको सिफलमा कार्यक्रम गर्न दिइएको हो । प्रसाईँले उक्त क्षेत्रमा कार्यक्रम गर्ने भएपछि त्यहाँको सुरक्षा व्यवस्था एकदमै कडा पारिएको छ ।

उक्त स्थानमा बाक्लो संख्यामा प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको छ । प्रहरीले नागरिकको घरको छत–छतमा बसेर पनि निगरानी बढाइरहेका छन् । कार्यक्रमस्थल आसपास बाक्लो संख्यामा सादा पोशाकका प्रहरी पनि परिचालित भएका छन् । त्यसैगरी, अपराध अनुसन्धानमा संलग्न हुने कुकुरसहितको प्रहरीको टोली कार्यक्रमस्थल आसपासमा रहेका छन् ।

प्रदर्शनका लागि अहिले प्रसाईँ नेतृत्वको टोली भक्तपुरबाट सिफलतर्फ नाराबाजीसहित अगाडि बढिरहेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्