Logo

पच्चीस हजारभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी



काठमाडौँ, ९ मङ्सिर । ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३’ मा करिब २५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा भएको प्रदर्शनीको उपभोक्ताले नेपालका नवप्रकाशन, विदेशी चर्चित तथा धार्मिक पुस्तक रुचिकासाथ खरिद गरेको पाइयो ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घका केन्द्रीय सदस्य एवं प्रदर्शनी आयोजक समितिका संयोजक राजेन्द्र तिवारीले इतिहासमै पहिलोपटक व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको पुस्तक प्रदर्शनी आयोजना गरिएको प्रतिक्रिया दिए । नेपालसहित विश्वका १५ देशका प्रकाशक, उत्पादक र व्यवसायीको सहभागिता रहेको प्रदर्शनीमा हरेक दिन पाँच हजारभन्दा बढीले प्रदर्शनीको अवलोकन गरेको उनले बताए ।

“हाम्रो मुख्य चाहना भनेको पठन संस्कृतिको विकास कसरी गर्न सकिन्छ । पाठकहरूले चाहेको समयमा चाहेको पाठ्यपुस्तक कसरी उपलब्ध गर्न सक्छन् त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनी मुख्य उद्देश्य राखेर मेलाको आयोजना गरिएको हो,”– उनले भने ।

प्रदर्शनीका क्रममा हरेक दिन पठक संस्कृतिसम्बन्धी गोष्ठी गरिएको छ । जहाँ सरकारी अधिकारी, व्यवसायी, राजनीतिक दलका नेता एवं सरोकारवालालाई आमन्त्रण गरेर पठन संस्कृतिको प्रवर्द्धनमा तपाईँको भूमिका के भनी बहस र अन्तक्र्रिया चलाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्