Logo

३३ किलो सुन तस्करीमा संलग्न २७ जनाविरुद्ध मुद्दा दायर, पाँचवटा कसुरमा सजाय मागदाबी



काठमाडौं, ११ मंसिर । दोलखाको लामबगर नाकाबाट भएको सुन तस्करी गिरोहमा संलग्न २७ जनाविरुद्ध मुद्दा दायर भएको छ । प्रहरीले दुई महिना लामो अनुसन्धान सकेर सुन तस्करीबारे प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

हिजो (आईतबार) सरकारी वकिलको कार्यालयले उक्त कसुरमा संलग्न २७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत दोलखामा मुद्दा दायर गरिएको हो । प्रतिवादीहरुलाई विभिन्न पाँचवटा कसुरमा सजाय माग दाबी लिइएको छ ।

साथै, उनीहरुले ३३ किलो सुन तस्करी गरेको निश्कर्ष निकाल्दै ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ बिगो दाबी गरिएको छ । उक्त मुद्दाका प्रतिवादी १५ जना पक्राउ परिसकेका छन् भने बाँकी १२ जना फरार छन् ।

उनीहरुले दोलखाको लामबगर नाका हुँदै पटक-पटक सुन तस्करी गरेको र त्यसको भुक्तानी भने क्रिप्टोमार्फत भएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । अभियुक्तमाथि भन्सार ऐन, संगठित अपराध निवारण ऐन, नेपाल राष्ट्र बैंक ऐन, बालबालिकासम्बन्धी ऐन तथा अपराधसंहिताको एकीकृत कसुरअनुसार सजाय माग भएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot