Logo

गणतन्त्र र संविधान होईन, पार्टी र नेता खराब भए: सिके राउत



काठमाडौं, १३ मंसिर । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त राउतले संघीय लोकतान्त्रिक गणतन्त्रभन्दा सुन्दर व्यवस्था अर्को हुनै नसक्ने बताएका छन् । उनले यो व्यवस्था खराब नभएको दाबी गरे । व्यवस्थालाई सञ्चालन गर्ने पात्र खराब भएको उनको भनाई छ । पात्र खराब भएको खण्डमा व्यवस्थालाई दोष दिने भन्दा पनि निर्वाचनमार्फत उनीहरुलाई जनताले नै फाल्नुपर्ने उनको भनाई छ ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेताहरु खराब भए, परिवारमुखी भए भन्ने जनताको गुनासोमा सत्यता रहेको बताए । उनले त्यस्ता प्रवृत्तिहरुलाई निर्वाचनमार्फत फाल्न पनि उनले जनतालाई सुझाव दिए ।

‘जनताले जुन आरोप लगाउनु भएको छ– नेताहरु सुविधा भोगी भए, परिवारमुखी भए । यो आरोपलाई म पूर्णतः अस्विकार चाहीँ गर्दिन । ठीक छ, नेताहरु त्रुटिपूर्ण भए, पार्टीमा पनि त्रुटि देखिए, विकृति देखिए । एकदम सही हो । तर, यसको मतलब गणतन्त्र, संघीयता र संविधान खराब भन्ने चाहीँ होईन । पात्र खराब भए, पार्टी खराब भए ।’ उनले भने, ‘यो व्यवस्था यस्तो छ, पात्र परिवर्तन गर्ने मौका त जनताको हातमा छ नि । यदि पार्टी, पात्र खराब भए, सुविधामुखी भइदिए भने जनताले निर्धारण गर्नुस् न । निर्वाचन त आउँछ, आवधिक निर्वाचन हाम्रो व्यवस्थाले दिएको छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रमा कुनै एक जना राजा भएर बाँच्ने भन्दा पनि तीन करोड जनतालेनै समान अधिकारको प्रयोग र समृद्धि भोग्न पाउनुपर्ने उनको भनाई छ । राजाको नाममा जनप्रतिनिधिहरुले शोषण गर्ने र देशको दुरुपयोग गर्ने गरेको खण्डमा उसलाई फाल्ने अधिकार जनतामा नै निहित रहेको भन्दै उनले अहिलेको व्यवस्थाभन्दा सुन्दर व्यवस्था भन्दा अर्को केही हुनै नसक्ने दाबी गरे । पहिला व्यवस्थाको विरुद्ध आवाज उठाउँदामात्रै राज्यद्रोहको मुद्दा लगाइएको उनले स्मरण गराए । अहिले व्यवस्थाको विरुद्ध आवाज उठाउँदा पनि राज्यले सुरक्षा दिने व्यवस्था रहेको बताउँदै उनले लोकतन्त्रको विकल्प लोकतन्त्रभन्दा अर्को व्यवस्था हुनै नसक्ने बताए ।

राजतन्त्रमा आफ्नो मातृभाष बोलेको कारण मृत्यु दण्ड दिएको, आफ्नो भाषामा समाचार वाचन गर्दा राजद्रोहको मुद्दा लगाएर जेलभित्र कोचिएको लगायतको घटनाको स्मरण गराउँदै उनले त्यो व्यवस्थासँग संघीय लोकतान्त्रिक गणतन्त्रको कुनै तुलनानै हुननसक्ने बताए । राजतन्त्र नभोगेका, नदेखेका नयाँ पुस्ताले सामाजिक सञ्जालमा अहिलेको व्यवस्थाको विरुद्धमा आक्रोश पोखेको उनको आरोप छ ।

अहिले सामाजिक सञ्जालमा जुनसुकै कुरामा विरोध गर्ने नयाँ पिढीहरुले यदि पुरानो व्यवस्था आएको खण्डमा १० दिन पनि झेल्न नसक्ने उनको भनाई छ । ‘यो नयाँ पिँढीहरु अहिले सामाजिक सञ्जालमा देखिएका छन् नि, जे पनि कुरामा विरोध गर्नेहरु, यदि पुरानो व्यवस्था आइदियो भने यिनीहरुले १० दिन पनि झेल्न सक्दैनन् । बरु पुराना नेताहरुले झेल्न सक्छन् । उनीहरु लडेका पनि हुन् । रेडियो सुन्न, साईकल चढ्न लाइसेन्स चाहिन्थ्यो । त्यो पनि सहज थिएन् । लोकतन्त्रले दिएको स्वतन्त्रता के हो ? यो नयाँ पिँढीहरुलाई थाहै भएन । उनीहरुले त्यो सुविधा जन्मजातनै भोगेको हुँदा उनीहरुलाई थाहै छैन कि उनीहरुले के पाएका छन् ।

गणतन्त्र कति सुन्दर व्यवस्था हो ? सोच्नुस् त– गरिब जनताका छोराछोरी देशकै सर्वोच्च पदमा आशिन हुन पाउँछन् । यो देशको इतिहासमा साढे दुई सय वर्षको इतिहासमा कोही मधेशी त्यहाँ पुगेको थियो ? थिएन नि । यो व्यवस्थाले दियो नि त । अचेल मलाई बडो ताजुब लाग्छ सामाजिक सञ्जालमा हेरेपछि मलाई अच्चम लाग्छ ।



प्रतिक्रिया दिनुहोस्