काठमाडौं, १३ मंसिर । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपछि अस्थायी आवास निर्माणमा विभिन्न राजनीतिक दलहरु प्रभावित क्षेत्र केन्द्रित भएका छन् ।
सबैजसो दलबाट हजारौँको सङ्ख्यामा नेता, कार्यकर्ता स्वयंमसेवकका रुपमा प्रभावित क्षेत्रको व्यवस्थापनमा जुटेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि आफ्ना नेता तथा कार्यकर्ता र भातृ संगठनलाई भूकम्प प्रभावित क्षेत्रमा तैनाथ गरेको छ ।
एमालेका केन्द्रीय सदस्य तथा विपत् व्यवस्थापन विभागका प्रमुख किरण पौडेलको नेतृत्वमा जाजरकोट र रुकुमपश्चिमा गरी एक हजार एक सय स्वयंसेवक खटिएका छन् । पौडेलका अनुसार एमालेले कार्य विभाजन गरी २५ समूहमा अस्थायी आवास निर्माण तथा भत्किएका घरहरु पन्छाउने काम गरिरहेका छन् ।
अस्थायी आवास निर्माणमा एमालेको कर्णाली प्रदेश कमिटी पनि सक्रिय रहेको छ । कर्णाली प्रदेशबाट अस्थायी आवास निर्माण अभियानमा सहभागी भएका गंगाराम तिमिल्सिनाले आफूहरु २५ जनाको टोलीले अस्थायी आवास निर्माणको काम गरिरहेको बताए ।
आफूहरुले अहिले भूकम्प प्रभावितहरुका पुरिएका सामान निकाल्ने र अस्थायी आवास निर्माण गर्ने लगायतका काम गरिरहेको तिमिल्सिनाले बताए । उनले अस्थायी आवास निर्माणको अभियान आगामी मंसिर १७ गतेसम्म जारी रहनेसमेत बताए ।