काठमाडौं, १३ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले विभिन्न बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमापथ प्रश्न उठाउने कोशिस भइरहेको बताएका छन् । आज (बुधबार) नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उनले व्यवस्थामाथि प्रश्न उठाउने कोशिस भएपनि यो व्यवस्था त्यति कमजोर नरहेको बताएका हुन् ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा अध्यक्ष दुर्गा प्रसाईँतर्फ लक्षित गर्दै उनले जनताले धेरै ठूलो मेहनत गरेर ल्याएको यो व्यवस्थाको पक्षमा ठूलो जनमत रहेको बताए । उनले सरकार नागरिकका विभिन्न समस्याहरु बैंकको व्याजदर, ब्याजदरमा सहुलियत लगायतका विषयमा गम्भीर रहेको उनले बताए ।
‘यो सिस्टम धेरै ठूलो मेहनत र प्रयासबाट स्थापित छ । यसमाथि प्रश्न उठाउने लक्ष्यका साथ अनेकौं बहानाबाजी गरेर यसलाई कमजोर बनाउने कोशिस विभिन्न बहाना र विभिन्न रुप रंगमा प्रकट भएकैछन् । तर, मलाई लाग्छ यो जनताबाट स्थापित व्यवस्था छ ।’ उनले भने, ‘यो यति कमजोर छैन । यसको पक्षमा ठूलो जनमत छ । विविध कारणले समस्याहरु आउनसक्छन् । तर, त्यसको समाधानको बाटो पनि हामीले पहिल्याएका छौं । समय थप्ने, ब्याजदरमा सहुलियत दिने काम भइरहेको छ ।’ Photo By: Mukunda kalikote/RN