काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी शक्तिहरु दुलोबाट सल्बलाईरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) बैतडीमा ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ को अभियान उद्घाटनपछि गोठालापानीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले प्रतिक्रियावादीले दुलोबाट टाउको निकाल्न खोजे पनि नेपाली जनता फेरि रैती हुन नसक्ने बताए ।
देशको अवस्था बेहाल हुँदा जनतामा अन्यौल र निराशा बढ्दै गएको उनले बताए । जनतामा बढेको निराशाको फाइदा उठाउँदै प्रतिक्रियावादीहरुले दुलोबाट टाउको उठाउन खोजेको उनले बताए । ‘अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु मौका आउँछ कि भनेर दुलाबाट टाउको निकालेर फरि सल्बलाउन खोजेका छन्,’– ओलीले भने ।
विर्तामोडको इकम कलेजमा पृथ्वीनारायण शाहको सालिक उद्घाटना गरिएको विषयमा पनि उनले असन्तुष्टि व्यक्त गरे । उनले अन्त्य भइसकेको राजतन्त्रका राजाको सालिकमा ‘श्री ५ महाराजधिराज’ लेखिने कार्य असंवैधानिक भएको दाबी गरे । उनले अब नेपाली जनताहरु फेरि रैती हुन नसक्ने र जन्मदै राजा र दास जन्मिन्छ भनेर कसैले स्वीकार गर्न नसक्ने उनले बताए ।
‘हामी देखिरहेका छौं– उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर ‘श्री ५ महाराजधिराज’ भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम यहाँ भइराखेको छ । गणतन्त्रको विरोध गर्ने त्यो दुस्साहसी काम भइराखेको छ, लोकतन्त्रको विरोध गर्ने दुस्साहसी काम भइराखेको छ । म हाम्रा तममा साथीभाइ, दाजुभाइ दिदीबहिनीहरुलाई भन्न चाहन्छु– हामी पछाडि फर्कन सक्दैनौं ।’ उनले भने, ‘फेरि हामी रैती हुन सक्दैनौं, फेरि हामी दास हुनसक्दैनौ, छुवाछुत र अनेक प्रकारका प्रथातिर फर्कन सक्दैनौं । फेरि हामी जन्मदै कोही राजा हुन जन्मिन्छ, कोही दास हुन जन्मिन्छ, कोही धनी हुन जन्मिन्छ, कोही गरिब हुन जन्मिन्छ भनेर मान्दैनौं ।’
गरिबी, अभाव र भोकमरीको अन्त्य गर्ने काम सरकारको भएको उनले बताए । आफू प्रधानमन्त्री भएको बेला गरिबी, अभाव र भोकमरीको अन्त्यका लागि सडक बालबालिकाको व्यवस्थापनदेखि सडकमा बेसाहरा रहेका वृद्धबृद्धा, असक्त र माग्नेहरुको व्यवस्थापन गरेको उनले दाबी गरे । आफू प्रधानमन्त्री हुँदा यी काम गरेपनि अहिले फेरि सडकमा बालबालिका,अलपत्र मानिस, भिखमग्गा र बेरोजगार मानिसहरु देखिन थालेको भन्दै उनले वर्तमान सरकारप्रति आक्रोश व्यक्त गरे ।