Logo

कांग्रेस नेताको दाबीः पार्टीको बटमलाईन हिन्दुराष्ट्र, कम्युनिष्टहरुले धर्मका नाममा पैसा खाए



काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसका नेता सुवास पोखरेलले अहिले धर्म र राजसंस्था एकै हो भनेर प्रचार भइरहेको बताएका छन् । धर्मका नाममा राजसंस्थालाई प्रश्रय दिने काम भइरहेको उनले बताए । १२ बुँदे सम्झौताका बेलामा धर्मका बारेमा कुनै कुरा उल्लेख नभएपनि कम्युनिष्टहरुको स्वार्थका कारण अहिलेको अवस्था सिर्जना भएको उनले बताए । नेता पोखरेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले होली वाइनको पक्षपोशण गरेर नेपालमा क्रिश्चियन धर्मको प्रचार गरेको समेत आरोप लगाए ।

कांग्रेसको झण्डाको चार तारामध्येको एउटा तारा धार्मिक स्वतन्त्रता भएको दाबी गर्दै उनले नेपालका कम्युनिष्टहरुले राज्यको कुनै धर्म हुँदैन भनेर भ्रम फैलाएको दाबी गरे ।

संविधानमा पनि सनातनदेखि मानिआएको धर्मका बारेमा उल्लेख गरिएको भन्दै उनले अहिलेको जड समस्या धर्मको विषय भएको बताए । धर्मका बारेमा खुलेर बहस गर्नुपर्ने आवस्यकता उनले औंल्याए । धर्मनिरपेक्षताको विरोध आम जनताले गरिरहेको उनको दाबी छ । धर्मको सन्दर्भको बहस कांग्रेको मात्रै विषय नभएर आम जनताको विषय बनिसकेको उनको दाबी छ ।

‘त्यसमा बहुसंख्यक हिन्दुहरु छन् । तर, संविधानमा लेखिएको जुन व्यवस्था छ, त्यो अनु्सार नेपालमा कानुन बनाइएन । आज धर्मान्तरणका मुद्दाहरु गाउँ–गाउँमा छन् । यसमा युरोपियन युनियनका चर्चका मान्छेहरु, खासगरी कम्युनिष्ट पार्टीहरु, ओलीका पालामा होली वाइनवाला थिएनी, माधव नेपालका गुट र ओलीका गुटले होली वाइनलाई त्यहाँ बोलाए । बोलाएर नेपाललाई क्रिश्चियानिटीमा लिएर जाने काम भएको छ । यसको प्रतिरोध आम जनता गर्दैछन् । कांग्रेस हिन्दु्राष्ट्रको पक्षमा जानसक्छ होईन, यो आम जनताको विषय भयो,’– उनले भने ।

हिन्दु धर्मका नाममा राजालाई ब्युँताउने प्रयास भइरहेको उनले बताए । उनले केही परम्परागत शक्तिहरुले धर्म र राजतन्त्र एउटै हो भनेर भ्रम फैलाएको बताए । धर्मका सम्बन्धमा संसद्मा समेत छलफल नभइ संविधानमा धर्मनिरपेक्षता उल्लेख गरिएको उनको दाबी छ । धर्मका सम्बन्धमा सांसदहरुले कलेक्सन गरेको सुझावसमेत सार्वजनिक नगरिएको उनको भनाई छ । आज धर्मलाई देखाएर राजालाई तान्न खोजिएको उनको दाबी छ । धर्मका कारण अहिले समस्या आइरहेको उनको ठम्याईँ छ ।

‘आज काहीँ समस्याको जड छ भने, धर्मलाई देखाएर राजालाई तान्न खोजिएको छ, व्यवस्थालाई फाल्न खोजिएको छ । यो सिरियस बहसको विषय बन्नुपर्छ । धार्मिक स्वतन्त्रता, निरपेक्षा कि सापेक्षता हुने कि त्यो १२ बुँदेमा पनि कही उल्लेख गरिएको छैन ।’ उनले भने, ‘भित्रभित्र संविधान जारी हुनेबेलामा जस–जसले यो काम गरे, कतिपयले त पैसा लिएर गरे भन्ने पनि अभियोग छ । हो कि होईन थाहा छैन । तर, छलफल नभएको विषय संविधानमा प्रवेश गर्यो, जसका कारण आज समाजमा समस्या आयो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षताको बारेमा पार्टीमा बहस चलाउन सकिने भन्ने अभिव्यक्ति दिएपछि धर्मका विषयलाई लिएर अनेक प्रकारका टीका–टिप्पणी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्