काठमाडौं, १५ मंसिर । सरकारले सर्वोच्च अदालतमा टिकटक बन्द गर्नुको कारणसहित लिखित जवाफ पेश गरेको छ । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले सुनुवाई गर्दै टिकटक बन्द गर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । सर्वोच्चले दिएको समय सीमाभित्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको लिखित जवाफ महान्याधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा पेश भएको हो ।
लिखित जवाफमा निकट भविष्यमै सामाजिक रुपमा भयावह स्थिति आउने अवस्था देखिएकाले टिकटकमाथि प्रतिबन्ध लगाइएको उल्लेख छ । टिकटकका कारण समाजमा डिजिटल पोलुसन बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न आवस्यक भएकाले प्रतिबन्ध लगाइएको लिखित जवाफमा उल्लेख छ ।
लिखित जवाफमा सरकारले तत्कालीन र दुरागामी असरलाई विश्लेषण गरी लगाएको प्रतिबन्धलाई अन्यथा भन्न नमिल्ने उल्लेख छ । टिकटकमा सकारात्मक भन्दा नकरात्मक कुराहरु बढि प्रयोग भएकाले यसले कालान्तरमा सामाजिक रोगको रुप लिने परिस्थितिलाई ख्याल गरेर प्रतिबन्ध लगाइएको सरकारको तर्फबाट जिकिर रहेको छ ।
टिकटक प्रयोगमा प्रतिबन्ध लगाउँदा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक कुण्ठित भएको भन्ने निवेदकको दाबीमा सत्यता नभएको सरकारको जिकिर रहेको छ ।