Logo

नक्कली भुटानी शरणार्थी प्रकरणः उच्च अदालतबाट पनि छुटेनन् रायमाझी



काठमाडौं, १५ मंसिर । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादु रायमाझीलाई थुनामा नै राख्ने आदेश दिएको छ ।

आज (शुक्रबार) उच्‍च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासले अभियुक्त रायमाझीलाई थुनामै राख्न आदेश दिएको हो । अर्का अभियुक्त बालकृष्ण खाँणको बारेमा भने न्यायधीशबीच राय बाँझिएको छ ।

साथै, उच्च अदालतले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पनि थुनामै राख्ने आदेश दिएको छ । त्यसैगरी, इन्द्रजित राई, आङटावा शेर्पालाई पनि अदालतले धरौटीमा छोड्न अस्वीकार गरेको छ ।

त्यसैगरी उच्च अदालतले खाणँको स्वकिय सचिव नरेन्द्र केसी, रायमाझीका छोरा सन्दीप, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष समशेर मियाँ लगायतलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी सम्बन्धी मुद्दामा सुरु सुनुवाइ गर्दै रायमाझी, खाँणसहित १६ जना प्रतिवादीलाई थुनामै राख्ने आदेश दिएको थियो । उनीहरुले सुरु अदालतको थुनामै राख्ने आदेशविरुद्ध उच्चमा निवेदन दिएका थिए । सोही थुनछेकको आदेश विरुद्धको निवेदनमा सुनुवाइ गर्दै रायमाझी र पाण्डे लगायतलाई थुनामै राख्ने आदेश दिएको हो ।



प्रतिक्रिया दिनुहोस्