काठमाडौं, १६ मंसिर । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अर्थतन्त्र विस्तारै रिकभर भइरहेको बताएका हुन् । आफू अर्थमन्त्री भएर आउँदा अर्थतन्त्रमा ब्यापक समस्या रहेको दाबी गर्दै उनले अहिले ती समस्याहरु पहिचान भएर सम्बोधन भइरहेको बताएका हु्न् ।
‘विरामी थियो, विस्तारै रिकभर हुँदैछ, स्वास्थ्यमा सुधार हुँदैछ । समस्यारहित संसारमा कुनैपनि अर्थतन्त्र छैन । हाम्रो देशमा पनि समस्या छ । तर, समस्याको धेरै ठूलो चाङ थियो ।’ उनले भने, ‘त्यो समस्यालाई विस्तारै–विस्तारै कम गर्ने काममा हामी लागेका छौं । हाम्रो सिस्टमभित्र पनि कतिपय समस्या थिए । समग्र अर्थतन्त्रमा पनि समस्या थियो । त्यो समस्या आउनुका विविध कारणहरु थिए । ती कारणहरुको यथार्थ मूल्याङ्कन गरेर समाधानका उपायहरु हामीले खोजेका छौं ।’
अर्थतन्त्रलाई चलायमान बनाउन सरकार बाहेक नीजि क्षेत्र, उद्यमी र आम नागरिकहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उनले सरकार सहजीकरणको बाटोमा लागिरहेको दाबी गरे । समस्याहरु विस्तारै घट्ने क्रममा रहेको र अर्थतन्त्र लयमा फर्किँदै गरेको उनले बताए ।
अर्थतन्त्र सुधारका लागि सरकारले प्रभावकारी बजेट विनियोजन गरेको उनको दाबी छ । साथै, मौद्रिक नीतिमा पनि ब्याजदरमा सहजता, ऋणको भाखामा समय बढाउने तर्फ काम गर्न सरकारले निर्देशन दिएको उनको भनाई छ । काम गर्दागर्दै समस्यामा रहेका ऋणीहरुलाई सहज वातावरण बनाउन पर्छ भनेर आफूहरुले भनेको उनले बताए ।