काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) कैलालीले जाजरकोटका भूकम्प प्रभावित विद्यार्थीहरुलाई सहयोग गरेको छ । नेविसंघ कैलालीका अध्यक्ष मनिष कुँवरको नेतृत्वमा जाजरकोट पुगी त्यहाँका भूकम्प प्रभावित विद्यार्थीहरुलाई राहत सामग्री वितरण गरिएको हो ।
नेविसंघ कैलालीले राहतमा विद्यार्थीहरुका लागि न्यानो कपडा र झोला वितरण गरेको छ । भूकम्प प्रभावितहरुलाई सानो भएपनि सहयोग होस् भन्ने उद्देश्यले आफूहरु जाजरकोट आएको नेविसंघ कैलालीका अध्यक्ष कुँवरले बताए ।
उक्त राहत वितरण कार्यक्रममा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, केन्द्रीय सदस्यहरु र नेविसंघ जाजरकोटका नेताहरु सहभागी थिए । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा नेविसंघले सुरुवाती दिनदेखिनै कामहरु गर्दै आइरहेको छ ।
नेविसंघले जाजरकोटमा एक विद्यालयलाई छ कोठे अस्थायी भवन निर्माण गरेर हस्तान्तरण गरिसकेको छ भने अन्य विद्यालयको अस्थायी भवन निर्माणको कामसमेत गरिरहेको छ ।