Logo

गगनको प्रस्तावः ‘०४६ सालपछि उच्च ओहदामा पुगेका सबैको सम्पत्ति छानविन गरौं’



काठमाडौं, १६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४६ सालपछि उच्च ओहदामा पुगेकाहरुको सम्पत्ति छानविनको प्रस्ताव गरेका छन् । आज (शनिबार) कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दैै उनले सबै घटनाको अपजस कांग्रेसले बोक्नु परेको भन्दै यस्तो प्रस्ताव गरेका हुन् । ०४६ सालपछि बनेका प्रधानमन्त्री, मन्त्री र सांसदहरुमाथि छानविन गरेर गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति खोस्नुपर्ने बताए ।

‘०४६ साल पछाडि उच्च ओहदामा बसेका प्रधानमन्त्री, मन्त्री, सांसद भएका प्रत्येकको सम्पत्तिको छानविन गरेर जसले अनियमित ढंगले सम्पत्ति कमाएको छ । सम्पत्ति खोस्ने पनि र दण्डित गर्ने भनेर संसद्बाटै कानुन बनाउँ न,’– उनले भने ।

महामन्त्री थापाले पार्टीका मन्त्रीहरुले काम गर्न नसकेको बताए । उनले पार्टीका नेता र मन्त्रीहरुले काम नगरेको कारण विपीले १५ सालमा गरेको कामको ब्याज खाइरहनु परेको बताए । कांग्रेसले उद्योग, सहरी विकास, कानुन, स्वास्थ्य जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएर पनि काम हुन नसकेको उनको भनाई थियोृ ।

‘उद्योग मन्त्रालय हामीले चलाएका छौं, सहरी मन्त्रालय हामीले चलाएका छौं । स्वाथ्य मन्त्रालय, कानुन मन्त्रालय हामीले चलाएका छौं । सिंगो सरकारका बारेमा गर्न सकिँदैन ल, कांग्रेसको नेतृत्वमा चलाएको मन्त्रालयबाट दिनमा एउटा काम गरेर नागरिकले यतिधेरै सुखको अनुभूति गर्न पाउन कि गाउँ–गाउँमा, चोक–चोकमा, चौतारामा कांग्रेसका साथीहरु १० जना मान्छेको भीडमा गएर फुर्ती लगाउन पाइयोस् न ।’ उनले भने, ‘हिजो मेरो पार्टीको नेता फलानो मन्त्रालयमा हुँदै गर्दा यो मन्त्रालयको तर्फबाट यो निर्णय गरियो भनेर छाती ठोक्न पाइयोस् न । त्यहाँ गएर विपीले १५ सालमा यसो गर्नुभएको थियो भनेर कति भन्नु ?’



प्रतिक्रिया दिनुहोस्