Logo

एनसेलको भ्यालुयनस ५० मिलियन डलर हो भने १० मिलियन डलर थपेर म किन्छुः अमरेश सिंह



काठमाडौं, १७ मंसिर । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेल गलत मनशाय राखेर खरिद विक्री भएको दाबी गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले गलत मनसायका साथ छ अर्बमा एनसेलको खरिद विक्री भएको दाबी गरेका हुन् ।

साथै, एनसेल खरिद विक्री यूकेमा गरेर नेपालका तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गरिएको उनले बताए । एनसेलमा ठूलो चलखेल भएको उनको दाबी छ ।

एनसेलको शेयर विक्री शंकास्पद रहेको उनले बताए । उक्त शेयर ५० मिलियन डलरमा विक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार रहेको उनले बताए । उनले एनसेलको शेयर विक्रीको सम्झौता पत्रमा पाँच मिलियन डलर खरिद भएको र महिनापछि र अरु बाँकी ४५ मिलियन डलर चार वर्षभित्र भुक्तानी गर्ने सहमति रहेको दाबी छ । सम्झौता शंकास्पद रहेको बताउँदै उनले यस्तो प्रकारको खरिद–विक्री हुन नसक्ने दाबी गरे ।

‘जम्मा पाँच मिलियन किनेको छ महिनापछि दिँदा हुने, बाँकी ४५ मिलियन डलर छ, त्यो चार सालमा दिँदा हुन्छ । यस्तो खरिद–विक्री कहीपनि हुँदैन । यो सबै ठगी हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्