Logo

‘समाजवादी जागरण अभियान’ ले नयाँ तरङ्ग



काठमाडौँ, २५ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादको आधारभूत मान्यतालाई जनताकाबीच पुर्याउन ‘समाजवादी जागरण अभियान’ ले समाजमा नयाँ तरङ्ग सृजना गरेको बताएका छन् ।

गत असोजमा सम्पन्न अभियानमा खटिएका स्वयंसेवकलाई सम्मान गर्न पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा पहिलो पटक आफ्नो पार्टीले समाजवादी जागरण अभियान सम्पन्न गरेको बताएका हुन् । सो अभियानले देशको राजनीति नै तरङ्गित बनाएकाले अहिले अन्य पार्टीले पनि अवलम्बन गरिरहेको उनले बताए ।

एकीकृत समाजवादीले अघि सारेको उक्त अभियान जनतासँग एकाकार हुन प्रभावकारी भएकाले अरूले पनि अनुसरण गरेको बताउँदै उनले भने, “राम्रो कामको अरुले पनि अनुसरण गर्छन् । पार्टीलाई हेयको दृष्टिकोणले हेर्ने, जोसँग हाम्रो ठूलो अन्तरविरोध छ, त्यही पार्टीले हामीले घोषणा गरेको कार्यक्रम टिपेर हिँडिरहेको छ ।”

अध्यक्ष नेपालले अभियानका क्रममा खटिएका स्वयंसेवकलाई धन्यवाद दिँदै पार्टीको सिद्धान्त र विचारप्रति प्रतिबद्ध भएर जनताको सेवामा क्रियाशील रहन निर्देशन दिए । अभियानका क्रममा भएका केही कमी कमजोरीबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बताउँदै उनले भने, “हामीले अरूको प्रशंसा सुन्ने हो, हामीले गरेका कामको गहिरो समीक्षा गर्नुपर्छ । हामीले तय गर्ने मञ्च, हामीले प्रयोग गर्ने सडक, सुरक्षा आदिका बारेमा हामीले सचेतना अपनाउनुपर्छ । राम्रा कुरालाई फैलाउने र कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ ।”

समाजवादी जागरण अभियानलाई जनताले सकारात्मक रूपमा लिएको बताउदै अध्यक्ष नेपालले भने, , “हामीले सम्पन्न गरेको अभियानलाई राजनीतिक क्षेत्रमा सकारात्मक रूपमा लिएका छन, त्यसको प्रशंसा भएको छ ।”



प्रतिक्रिया दिनुहोस्