Logo

प्रचण्डले उडान भरिरहेको जहाज सुरक्षित अवतरण हुन्छः रेशम चौधरी (भिडिओसहित)



काठमाडौं, २ पुस । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सही दिशामा रहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले देश र जनताको पक्षमा काम गरिरहेको बताएका हुन् । अहिले प्रधानमन्त्री प्रचण्ड सत्ताको पाइलट रहेका र उनले उडान भरिरहेको जहाज सुरक्षित अवतरण हुने नेता चौधरीको दाबी छ ।

‘प्रचण्डजी सत्ताको पाइलट हुनुहुन्छ । उहाँको जहाजमा हामी नेपाली जनता सवार भइराखेका छौं । सुरक्षित अवतरण कत्तिको होला । अहिले जहाज एयरपोर्टमा ल्याण्ड गरिसकिएको छैन । हामी आकाशमा उड्दैछौं ।’ उनले भने, ‘कहिलेकाहीँ आकाशमा उड्दा हावाका तरङ्गले पनि जहाज हल्लिन्छ । अहिलेकाहीँ आँधीबेहरी र बादलको पनि सामना गर्नुपर्छ । केही कठिनाइहरु, केही बादलुका घुम्टोहरु पार गर्ने क्रममा जहाज अवस्य हल्लिएको होला । तर, म विश्वस्त छु– प्रचण्डले पाइलटिङ गरेको जहाज सुरक्षित अवतरण हुनेछ ।’

साथै, संसारको सबैभन्दा सुन्दर ब्यवस्था लोकतान्त्रिक गणतन्त्रमात्रै भएको उनले बताए । धेरै मान्छेहरुले संघीयताको विरोध गरिरहेकोमा आपत्ति जनाउँदै उनले संघीयताले आज नेपालको राजमार्गभन्दा राम्रा बाटाहरु बस्तीबस्तीमा बनिरहेको उनले बताए । संघीयताको सुन्दर पक्ष आज गाउँका हरेक जनताले सुविधा पाइरहेको उनले बताए ।

साथै, संघीयतालाई अझ मजबुद र सन्दुर बनाउन जनप्रतिनिधिहरुले तलब भत्ता नलिने ब्यवस्था गनुपर्ने उनले बताए । संघीयता देशलाई अत्यावश्यक रहेको र संघीयताको नाममा भइरहेका विकृतिलाई पनि नियन्त्रण गर्न आवश्यक रहेको उनले बताए ।

‘हिजो गाउँको प्रधानपञ्चले तलब लिन्थेनन् । आज मेयर उपमेयरको तलब ७०÷७५ हजार छ । आज उहाँहरु चढ्ने सेवा सुविधाको गाडीले करोडौं रुपैयाँ खर्च भइरहेको छ ।’ उनले भने, ‘विभिन्न गाउँपालिका र प्रदेशका सांसदहरु जनताले तिरेको करले कहिले पोखरा भ्रमण, विदेश भ्रमण गरिराखेको देख्छु । यो अनावश्यक कुरा हो । प्रदेश सांसदहरु धेरै भएकै हुन् । देशले पाल्न सक्दैन । घटाऔं । दुई सय ७५ जनाबाट एक सय जना बनाऔं ।’



प्रतिक्रिया दिनुहोस्