Logo

परिवर्तनका वहाकहरु नकरात्मकताको लहैलहैमा लाग्न हुँदैनः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनको ऐतिहासिक महत्व, जनतालाई अधिकार सम्पन्न बनाएको र सबै उत्पीडित वर्ग समुदायलाई अधिकार र पहिचान दिलाएको कुरा जनतामाझ सम्प्रेष गर्न नसके देश फरि पछाडि फर्किने खतरा बढ्ने बताएका छन् । आज (सोमबार) ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्राप्त उपलब्धीहरुलाई जनतामाझ पुर्याउन नसके देश दुर्गतीतिर फर्किने खतरा बढ्ने बताएका हुन् । साथै, नेपालमा नेगेटिभ कुरा गर्न प्रवृत्ति बढेको उनले बताए । अब राजनीतिक दलहरुले राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्राबाट जनतामा आशा जगाउन र भरोसा दिलाउन सक्नुपर्ने उनले बताए ।

‘नेगेटिभ कुरा बढि गर्ने बानी बस्न थाल्यो नेपालमा । सकारात्मक नदेख्ने, सकारात्मक र उज्यालोतिर नहेर्ने, खाली अध्यारो र नकरात्मक । यस्तो भयो भने हामीले राजनीतिक स्थायित्व, विकास र समृद्धिको यात्रा,जनतामा आशा जगाउने, जनतालाई भरोसा दिने काम गर्न सक्दैनौं । के संघीय लोकतान्त्रिक गणतन्त्र र स्थानीय सरकारले प्रत्यक्ष जनतासँग सहकार्य गरेर विकास निर्माण र सेवा प्रदानमा पहिलाको भन्दा राम्रो गरेको छैन र ?’ प्रश्न गर्दै उनले भने, ‘पक्कै गरेको छ । किन त्यो कुरालाई हामी सकारात्मक ढंगले भन्दैनौं ? यो परिवर्तन ल्याउने तमाम योद्धाहरु, राजनीतिक दल र नेताहरुको भूमिकालाई हामीले किन सकारात्मक ढंगले भन्दैनौं ?’

केही मानिसहरुले गणतन्त्र, संघीयता सामावेशिता र समानुपातिकताको विरोध गरेको उनले बताए । ती मान्छेहरुले नकारात्मक भाष्य बनाएर यो संविधान र परिवर्तनलाई नै निस्तेज पार्ने कसरत गरिरहेको उनको दाबी छ । यस्तो बेलामा परिवर्तनका वहाकहरुले पनि लहैलहैमा लागेर यो पनि ठीक छैन, त्यो पनि ठीक छैन, सबै सिद्धियो, डुब्यो भन्न थालियो भने राम्रो नहुने उनको भनाइ छ ।

रोजगारी नपाएर, विकास नभएर नेपाली युवाहरु या शिक्षित समुदायहरु विदेश जाने लर्को लागेको कुरामा आंशिक सत्य रहेको उनले बताए । हजारौ युवाहरु दिनै विदेश जाने कुरा सबैका लागि चिन्ताको विषय भएको उनले बताए । सबैले हजारौ युवाहरु रोक्नै सकिएन, विकास नभएर, रोजगारी नभएरमात्रै भनेरमात्रै समस्याको समाधान हुनेवाला नरहेको उनले बताए । सरकारले रोजगार सिर्जना गर्न नसकेको, प्राकृतिक स्रोत साधानको सचित प्रयोग गर्न नसकेको कुरालाई स्वीकार गर्दै उनले अहिलेको पुस्तामा देशभक्तिको भावनामा कमी आएको बताए । उनले रोजगारी नभएर र सरकारकै कारणले पढेलेखेका मानिर र युवाहरु विदेश गए भन्ने कुरामा सत्यता नरहेको बताए ।

आफूले पश्चिम नेपालका केही जिल्ला भ्रमण गर्दा स्कुलका हेडमास्टरहरु समेत ५०/६० लाख तिरेर विदेश जाने लहर चलिरहेको उनले बताए । नेपालको उर्वर जमिन बाँझो राख्ने, भएको जागिर छोड्ने जस्ता विषयलाई उल्लेख गर्दै उनले नेपालीमा देशभक्तिको भावना मर्दै गएकोमा चिन्ता ब्यक्त गरे ।

अहिले जसले केही गर्न बल गर्दैछ उसैलाई गाली गर्ने र जो नेपालमै बस्न चाहन्छ उसैलार्ई गाली गर्ने प्रवृत्ति बढेको बताए । छिट्टै नै संघीय निजामति ऐन र संघीय शिक्षा ऐन ल्याएउने समेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्