Logo

बालेनको यस्तो आरोपपछि चिढिए प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ, २ पुस । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले फोहोरमैला व्यवस्थापन लगायतका काममा संघीय सरकारको सहयोग चाहिएको बताएका छन् । आज (सोमबार) ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले बञ्चरेडाँडा ल्याण्डफिल साइटको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका हुन् ।

प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्ड रहेका उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बालेनले भने,– ‘बञ्चरेडाँडा (स्यानिटरी ल्याण्डफिल साइट) व्यवस्थापनका लागि सम्माननीय प्रधानमन्त्रीज्यूले चाहना भयो भने यहाँबाट अर्को कार्यक्रममा पुग्ने समय अगाडिनै समाधान गरिदिन सक्नुहुन्छ । तर, यो काम गर्न स्थानीय सरकारलाई दिएको अधिकारले पुग्दैन । हामी प्रमुख उपप्रमुखको जोडले मात्र पुग्दैन । यसमा भएका बाधा फुकाइ दिन म यहीँबाट अनुरोध गर्न चाहन्छु ।’

साथै, काठमाडौं उपत्यकाका नदीहरु अतिक्रमण भएकोमा उनले दुःख ब्यक्त गरे । नदी अतिक्रमण नियन्त्रण स्थानीय सरकारलेमात्रै गर्न नसक्ने बताउँदै उनले प्रधानमन्त्रीको सहयोग मागेका थिए । साथै, गृहमन्त्रालयले चाहेको खण्डमा एक धण्टाभित्र काठमाडौंको समस्या समाधान हुने उनको दाबी छ ।

‘काठमाडौँमा नदी अतिक्रमण छ । ललितपुरमा पैदल मार्ग । एकदिन दुवै सहरलाई अतिक्रमणमुक्त बनाउनु पर्छ । कतिपय अतिक्रमण हामी आफैँले नियन्त्रण गर्न सक्छौँ । तर नदी अतिक्रमण व्यवस्थापन हामीले मात्र गर्न सक्दैनौँ । म यहीँबाट प्रधानमन्त्रीज्यूलाई फेरि अनुरोध गर्न चाहन्छु । यसमा हामीलाई सहयोग गरिदिनुप¥यो । यो प्रधानमन्त्री र गृह मन्त्रालयको इच्छा भयो भने ५ मिनेटदेखि १ घण्टामा समाधान निस्किन्छ । ललितपुरले उज्यालो कार्यक्रम सञ्चालन गर्न पायो । रातमा उज्यालो छ । काठमाडौँले मुद्दा खेप्नु पर्यो । काम हुनै पाएको छैन,’– उनले भने ।

उनले सरसफाइ र सम्पदा संरक्षणको कुरा उठाउँदै भने, ‘ललितपुर जस्तो सफा र भक्तपुर जस्तो सम्पदा संरक्षण भएको सहर बनाउने चुनाव अगाडि देखिकै योजना हो । यसमा काम भइरहेको छ । सरसफाइमा अहिले काठमाडौँमा धेरै सुधार भएको छ । पहिले काठमाडौँ र ललितपुर छुट्टिन्थ्यो । अहिले उस्तै उस्तै देखिन थालेको छ । सुधारका लागि गर्नु पर्ने काम धेरै छन् । हामी प्रयास गरिरहेका छौँ ।’

यातायात क्षेत्र सुधारको कुरा गर्दै उनले संघीय राजधानी यातायात प्राधिकरणको संरचनाबाट काम थाल्दाथाल्दै प्रदेश सरकार मुद्दामा गएको बताए । ‘हामीले यातायात क्षेत्रलाई बैज्ञानिकीकरण गर्ने योजना बनाउँदै थियौँ । सुधारका काम गर्दा प्रदेश सरकारले मुद्दा हालिदिनु भएन,’– उनले भने ।

पालिकाले राम्रा काम गर्दा प्रदेश र संघ सरकार खुशी हुनुपर्ने उनले बताए । काठमाडौँ उपत्यकाको एकीकृत र दीगो विकासका लागि अन्तरपालिका सम्बन्धबाट नतिजा हासिल हुनेमा विश्वस्त रहेको उनको भनाइ थियो ।

बालेनले भाषण नसुनी हिँडेपछि प्रधानमन्त्री प्रचण्ड इरिटेड



प्रतिक्रिया दिनुहोस्