Logo

गगनको प्रस्तावः ‘भ्रष्टाचार रोक्न नेता र कर्मचारीको सम्पत्ति छानबिन गरौं’



काठमाडौं, २ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विधानबमोजिम चल्नुपर्ने बताएका हुन् ।

“विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ । दण्डको व्यवस्था भएमात्रै पार्टी विधानबमोजिम चल्न सक्छ । त्यसमा हामीले छलफल चलाइराखेका छौँ,”– महामन्त्री थापाले भने ।

महामन्त्री थापाले पार्टीमा गुटको अन्त्य गरिनुपर्ने जनाउँदै अहिलेको पद्धतिका कारण गुट बनाउनैपर्ने बाध्यता रहेको समेत बताए । “अहिले पार्टीभित्र जुन पद्धति छ त्यसका आधारमा गुट बनाउनैपर्ने बाध्यता सबैलाई भयो । हामी सबैले गुटको अन्त्य हुनुपर्छ भने पनि भित्रभित्र गुटमै रमाइराखेका छौँ,”– उनले भने ।

संसद्मा निर्वाचन कानुनका विषयमा छलफल अगाडि बढाउन लागिएको जनाउँदै महामन्त्री थापाले एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने पार्टी राष्ट्रिय पार्टी नबन्ने उल्लेख गर्न सकिने चर्चा गरे ।

“यसो भएमात्रै एक पार्टीले अर्को पार्टीसँग गठबन्धन गर्न पाउँदैन । त्यस्तो हुँदा कांग्रेस एमालेसँग डराउनु पर्दैन, एमाले कांग्रेस वा अरू पार्टीसँग डराउनु पर्दैन,”– उनले भने ।

महामन्त्री थापाले पार्टीभित्रको निर्वाचन पद्धतिसमेत परिवर्तन गर्न आवश्यक रहेको बताए । “अहिले जसरी टिकट बाँडिएको छ त्यो ठीक छ वा उम्मेदवार छान्दा जुन तहको सदस्य हो त्यहाँका सदस्यले छान्ने परिपाटीका विषयमा छलफल अगाडि बढाएका छौँ,”– उनले भने ।

साथै, महामन्त्री थापाले २०४८ सालपछिका सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरू सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले देशमा भ्रष्ट्राचार हटाउन तथा सुशासन कायम गर्न सरकारले कानुननै बनाएर उच्चपदस्थ अधिकारीहरुको सम्पत्ति छानविन गर्नुपर्ने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्