काठमाडौं, ४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताएका छन् । आज (बुधबार) दिउँसो सिंहदरबारमा कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका निम्ति बोलाइएको बैठकमा बोल्दै प्रधानमन्त्री ले सो कुरा बताएका हुन् ।
“आज २ वटा मन्त्रालयको मन्त्रालयगत अवस्था के छ, त्यसबारे समग्र स्थितिको जानकारी लिने काम भयो। यो आफैमा महत्वपूर्ण छ। मैले सरकारको नेतृत्व लिएको १ वर्ष पुग्दैछ। मैले क्यालेण्डर नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचेको छु। एक वर्षमा हामीले कति काम गर्यौं, कहाँ के कति समस्या देखिए, त्यसको गम्भीर अध्ययन गरेर आगामी योजना निर्माण गर्छु,”– प्रधानमन्त्री प्रचण्डले भने ।
प्रधानमन्त्री प्रचण्डले जनतालाई डेलिभरि दिने कुरा मुख्य भएको बताए । जति राम्रो डेलिभरि दिन सक्यो, जनतामा राज्यप्रतिको विश्वास त्यति नै बढ्दै जाने उनको भनाइ छ । जनतालाई केन्द्रमा राखेर सोच्नु पनि उनले मन्त्रीहरुलाई निर्देशन दिए ।
देशको अर्थतन्त्र, राजनीति र समाजको मुख्य हार्मोनी कृषि र भूमि नै भएको बताउँदै उनले कृषिलाई विकासको मूल आधार र भूमिको वैज्ञानिक व्यवस्थापन गर्न सकिएन भने समृद्धि सम्भव नरहेको बताए ।
कृषिको उत्पादकत्व बढाउने र भूमिको वैज्ञानिक व्यवस्थापन गर्ने कुरालाई केन्द्रमा राखेर काम गर्न उनले विभागीय मन्त्रीलाई निर्देश गरे ।
बैठकमा कृषि तथा पशुपन्छी मन्त्री डा.बेदुराम भुसालले कृषिका ७ प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिए । मन्त्री भुसालले नदी प्रणालीलाई जोडेर सतही सिचाइको प्रबन्ध, उत्पादनशील बिउको प्रबन्ध र किसानहरूलाई साक्षरता, मलमा आत्मनिर्भरता, यान्त्रिकीकरणमा जोड, बजार व्यवस्थापन, कृषिमा आधारित उद्योगको विकास र प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएर कृषि क्षेत्रको उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए ।
त्यसैगरि, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी, स्वबासी, हरूवा, चरूवा लगायतका समस्या सम्बोधनमा सरकारले गम्भीर पहल लिइसकेको जानकारी गराईन् ।
बैठकको संश्लेषण गर्दै प्रधानमन्त्री प्रचण्डले देश र जनतालाई एक्लाएक्लै परिणाम दिन नसकिने बताए । सबैको एकीकृत मेहेनत र अनुभवका आधारमा परिणाम दिनुपर्ने उनको भनाई छ ।
“हामीले नयाँ ढंगले काम गर्नुपर्छ। त्यसका लागि म आफैंबाट सुरू गर्छु। म नियमित सिंहदरबार आउँछु। नजिकबाट छलफल गरेर समस्या समाधानको पहल गर्छु। कर्मचारीतन्त्र राम्रोसँग परिचालन गर्न सकियो भने केही समयमा नै राम्रो परिणाम दिन सक्ने देखेको छु। विश्वासका साथ अगाडि बढ्नुस्, अर्को वर्षको नतिजा अझ राम्रो हुनेछ,”– उनले भने ।