Logo

राजीनामामात्रै होईन फाँसीमा झुण्डिन पनि तयार छु, तर मैले गलत गरेको छैनः मन्त्री किराती



काठमाडौं, ६ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले कुनै धर्मलाई विरोध नगरेको बताएका छन् । उनले आफूले संविधानलाई मानेर र संविधानले दिएको अधिकार प्रयोग गरेर जनतालाई उनीहरुको अधिकारको बारेमा जानकारी गराएको बताए ।

हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो अभिव्यक्ति संविधानकै परिधिमा रहेको र त्यसैको आधारमा राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

‘तामो तुलसो गर्न पनि म तयार छु । जीवनभन्दा प्यारो केही हुँदैन, म फाँसीमा झुण्डिन पनि तयार छु । तर, मैले गल्ती बोलेकै छैन । संविधानकै आधारमै बोलेको छु,’– उनले भने ।

आफूले धर्मको राजनीति नगरेको उनको स्पष्टोक्ति छ । बल्खुमा आएर धर्मको आडमा राजा ल्याउँ भन्दै आन्दोलन गर्नेहरुले मात्रै धर्मको राजनीति गरेको उनको दाबी छ । आफू कानुनी राज्यको पक्षमा रहेको र कानुन विपरितको काम गर्नेलाई राज्यले कारबाहीको दायरामा ल्याउने उनको दाबी छ । उनले राज्यले कानुव विपरित काम गर्नेहरु मिटरब्याजी, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न, सुन काण्डका दोषी लगायत अन्य विभिन्न काण्डमा मुछिएकाहरुलाई कारबाही गरेको बताउँदै धर्मको बहु भाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा कसैको अधिकार हनन् भएमा राज्यले नछोड्ने बताए ।

राजावादीहरुले राजा ल्याउने नारायणहिटीमा राख्ने र एउटा जाति एउटा देश, एउटा भाषा एउटा भेषको नारा लगाउने गरेको उनको दाबी छ । उक्त कुरा नेपाली जनतालाई स्वीकार्य छ नहुनेसमेत उनले बताए । आफू जनताको पक्षमा रहेको दाबी गर्दै उनले राजा ल्याउनका निम्ति धर्मको प्रचार गर्ने, धर्मको लडाईँ लडाउने जस्ता कार्यहरु स्वीकार्य नहुने बताए ।

आफूले सबै धर्म र सम्प्रदायलाई सम्मान गरेको उनको भनाई छ । आफूले कसैलाई विभेद नगरेको उनले बताए । आफ्नो विरुद्ध आन्दोलनमा उत्रिएका मान्छेहरु अराजकमात्रै रहेको र कुनै न कुनै समयमा बदनाम भएका पात्रहरु रहेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्