काठमाडौँ, ६ पुस । पुराना मुद्दालाई जतिसक्दो छिटो फछ्र्योट गर्ने सर्वोच्च अदालतको योजनाअनुसार विशेष अदालत काठमाडौँले मुद्दाको फछ्र्योटलाई तीब्रता दिएको छ । विशेष अदालतमा दुई वर्ष नाघेका मुद्दा ७० थान रहेका छन् । कूल मुद्दा एक सय २२ भएकामा ५२ मुद्दा फछ्र्योट भई ७० थानमात्र मुद्दा बाँकी रहेको अदालतमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
त्यस्तै १८ महिनादेखि दुई वर्षसम्मका मुद्दा २८ रहेका छन् । कूल ५५ थान मुद्दा रहेकामा २७ मुद्दा फछ्र्योट भएका छन् । एक वर्षदेखि १८ महिनासम्मका ५० थान मुद्दा फछ्र्योट गर्न बाकी रहेका छन् । कूल ७५ मुद्दा रहेकामा ५५ मुद्दा फछ्र्योट भएका छन् । साथै, छ महिनादेखि एक वर्षभित्रका ६८ मुद्दा फछ्र्योट भएका छन् । कूल ८१ मुद्दा रहेकामा १३ फछ्र्योट भएका छन् । त्यस्तै, छ महिनाभित्रका कूल एक सय एक मुद्दा रहेकामा छ मुद्दा फछ्र्योट भएका छन् भने छ भने ९५ थान मुद्दा बाँकी छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले अदालतले मुद्दा फछ्र्योटलाई तीब्रता दिएको र निर्दोषलाई दोषी ठहर नहोस् तथा दोषीले सजाय पाओस् भन्ने उद्देश्यका साथ काम गरिरहेको बताए । उनले अदालतले छिट्टै अनलाइन सुनुवाइ गर्ने तयारी गरिरहेको र संविधान तथा कानुनअनुसार पाएको जिम्मेवारी पूरा गरिरहेको जानकारी दिए ।
उक्त अदालतबाट २०७९ वैशाख १ गतेदेखि नेपालभर अनलाइन तारिख लिन र कोभिडपश्चात अनलाइन बकपत्र गर्ने प्रक्रिया नियमितरूपमा सञ्चालन भइरहेको छ । विशेष अदालतमा गोलाप्रथा प्रक्रियाद्धारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०८० अन्तिम चरणमा रहेको जनाइएको छ ।