Logo

सभापति लामिछानेमाथि खोया प्रहारः मिडिया विरुद्ध रास्वपाको विष बमन



काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गरिएको सन्दर्भलाई केही सञ्चारमाध्यमले अत्यन्तै निकृष्ट रुपमा प्रचार गरेको भन्दै आपत्ति जनाएको छ । आज (आइतबार) विज्ञप्ति जारी गर्दै रास्वपाले तथ्यलाई पूरै वेवास्ता गर्दै असान्दर्भिक विषय जोडेर समाचार सम्प्रेषण गरिएको भन्दै आपत्ति जनाएको छ ।

पोखरामा के कति कारणले ती व्यक्तिले सभापति लामिछानेमाथि प्रहार गरे भन्ने नखुलेको रास्वपाले बताएको छ । त्यसबारे प्रहरीले प्रहारकर्तालाई उधृत गर्दै सार्वजनिक जानकारी पनि नदिएको, प्रहारकर्ताले पनि कारण नखुलाएको र सभापति लामिछानेसँग पनि नसोधिएको रास्वपाको दाबी छ । रास्वपाले आधिकारिक स्रोतले केही जानकारी नदिँदा–नदिँदै अनुमानका आधारमा सभापति लामिछानेको चरित्र हत्या गर्ने दुरासयका साथ समाचार प्रेषित गरिएको आरोप लगाएको छ ।

भ्रमपूर्ण समाचार प्रेषित गरेर सभापति लामिछानेको चरित्रहत्यासँगै सिङ्गो पार्टीको उदीयमान छविलाई धुमिल बनाउने प्रयास भएको रास्वपाको आरोप छ । रास्वपाले पार्टी स्थापनादेखि नै केही सञ्चारमाध्यम प्रतिशोध साँधेर निरन्तर आफूहरुविरुद्ध खनिएको समेत टिप्पणी गरेको छ ।

रास्वपाले स्वच्छ र मर्यादित हुनुपर्ने पत्रकारिताको धर्मलाई स्वार्थको बन्धक बनाएर गरिने गलत हर्कत अविलम्ब बन्द गर्न र सूचना समाचार प्रेषित गर्दा सन्तुलनको सिद्धान्त ख्याल राख्न आग्रह गरेको छ । साथै, समाचारहरुमा उल्लेख गरिएका विवरण तथ्यसंगत पुष्टि गर्न अन्थया प्रचलित कानूनी प्रक्रियाको सामनाका लागि तयार रहन समेत भनेको छ ।



प्रतिक्रिया दिनुहोस्