Logo

ख्रीष्टियन महासंघका अध्यक्ष गहतराज भन्छन्, ‘मैले नक्कली सर्टिफिकेट बनाएको होईन, षड्यन्त्र भयो’



काठमाडौं, १५ पुस । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज (सिबी) ले आफूलाई नक्कली शैक्षिक प्रमाणपत्रको विषय जोडेर बदनाम गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले ख्रीष्टियन समुदायका केही मानिसहरुले आफ्नो नाम जोडेर किर्ते सर्टिफिकेट बनाएर फसाउन खोजेको बताएका हुन् ।

अध्यक्ष गहतराजले आफूले र नेपालको कानुन र बाइबलका वचनहरु पूर्ण रुपमा पालना गर्दै आएको बताए । देशको कानुन र बाइबलको नियम हिजो पनि उल्लङ्घन नगरेको र आगामी दिनमा पनि उल्लङ्घन हुने काम नगर्ने उनले प्रतिवद्धता व्यक्त गरे । आफूले कुनै नक्कली सर्टिफिकेट नबनाएको उनको दाबी छ । मिडिया हाउस दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र बाहेक कुनै शैक्षिक योग्यता आवस्यक नरहेको उनले बताए । ‘एउटा महान अभियान’ नामक मिडिया हाउस दर्ताका लागि आफूले नेपाली नागरिकताको प्रमाणपत्रमात्रै पेश गरेको उनको भनाई छ । उनले केही मान्छेहरुले आफ्नो नाममा नक्कली सर्टिफिकेट बनाएर फसाउन खोजेको बताए ।

‘काठमाडौं जिल्ला प्रशासन कार्यालयमा धेरै वर्ष पहिला ‘एउटा महान अभियान’ नामक मिडिया हाउस दर्ता गरिएको थियो । मिडिया हाउस दर्ता गर्दा कुनै सर्टिफिकेटको जरुरत पर्दैन, नेपाली नागरिकताको प्रमाणपत्रको मात्रै जरुरत पर्छ । मेरो नाम जोडेर किर्तिम सर्टिफिकेट बनाएर मलाई नक्कली सर्टिफिकेटमा मेरो नाम जोडियो ।’ उनले भने, ‘म दुःख ब्यक्त गर्न चाहन्छु । जो–जो साथीहरुले भूमिका निर्वाह गर्नुभयो, एकछिन त मज्जानै लाग्यो होला । तर, सत्य कुरा सत्य नै हुन्छ । मैले कुनै पनि खाल्का किर्तिम कार्य गरेको छैन । सत्यतथ्य सम्मानीत काठमाडौं जिल्ला अदालतमा पेश गरेको छु ।’

अध्यक्ष गहतराजले महासंघ नेपाली ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचानलाई बोकेको बोइङ जहाज भएको बताए । यसले बादल लागेको ठाउँमा कति हल्लियो भन्ने कुरालाई वास्ता नगरी गन्तब्यमा पुर्याएर छाड्ने बताए ।

जेम्स आलेले ख्रीष्टियन समुदायको हक र हितमा लामो समयदेखि राज्यसँग विद्रोह गर्दै अगाडि बढिरहेका अध्यक्ष गहतराजलाई केही झुण्डहरुले पद र पैसाको लोभमा उनलाई फसाउन खाजेको बताए । अहिले ख्रीष्टियन समुदायमाथि दमन र प्रहारको कोशिस भइरहेको समेत उनले बताए ।

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका उमहासचिव उपेश नौवाले केही ख्रीष्टियन समुदायका मानिसहरुले फसाएर कानुनी उल्झनमा पार्ने गतिविधि गरेको बताए । ख्रीष्टियन समुदायमा केही मानिसहरुले दोहोरो चरित्रको भूमिका निर्वाह गरेको उनले बताए । अध्यक्ष गहतराजमाथि भएको प्रहार एक व्यक्तिमाथिको प्रहार नभएर सिंगो इसाई जगतमाथिको प्रहार भएको उनको बुझाइ छ । अध्यक्ष गहतराजलाई विना प्रमाण आरोप लगाएर दु्ःख दिएको उनको दाबी छ ।

साथै, महासंघका उपाध्यक्ष तुलसीप्रसाद श्रेष्ठ, महासंघका कानुनी सल्लाहकार चेतबहादुर आलेमगर लगायतले अध्यक्ष गहतराजमाथि फसाउने षड्यन्त्र भएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot