काठमाडौं, १६ पुस । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले दुई जना युवाहरुको ज्यान जानेगरी बालकुमारीमा घटेको घटना सरकार प्रत्यक्ष रुपमा दोषी रहेको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै उनले उक्त घटना सरकारको गल्तीबाट भएको बताएका हुन् । सांसद पन्तले उक्त परिवारको सदस्यलाई क्षतिपूर्तिको रकम बढाउन र घटनाको निश्पक्ष छानविन गर्न माग गरे । साथै, उनले पीडित परिवारलाई रोजगारीको ग्यारेन्टी गर्नसमेत माग गरे ।
‘यो घटना सरकारको गल्तीबाट भएको छ । सरकारको गल्तीबाट अनाहकमा युवाहरु मारिएका छन् । क्षतिपूर्तिको रकम बढाउनुस् । दोस्रो कुरा त्यो परिवारका सदस्य जुन पदमा काम गर्न लायक छन्, सुब्बा हुन योग्यता छ भने सुब्बा खरिदार वा कार्यलय सहायक जे मा योग्य छन् ।’ उनले भने, ‘त्यो परिवारका महिला हुन् या पुरुष उनीहरुलाई तुरुन्त रोजगारी दिनुस् । त्यो परिवारको भविष्य अध्यारो भएको छ । सरकारले गोली प्रहार गर्दा भयो ।’
बैठकमा अन्य सांसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेपनि नेता पन्तले राजीनामा व्यक्तिले आफूले अनुभूत गर्ने र नैतिकताको कुरा भएको भन्दै त्यसको औचित्य छ छैन विचार गर्न आग्रह गरे ।
‘नैतिकता भनेको व्यक्तिले आफूले अनुभूत गर्ने कुरा हो । राजीनामा पनि मन राजी भएपछि दिने कुरा हो । गृहमन्त्रीजी आफैंले विचार गर्नुस् । प्रश्नहरु उठेका छन्, राजीनामाका मागका औचित्य छन् कि छैनन् ?’ उनले प्रश्न गरे ।
उक्त घटनामा सिडिओलाई तानेर जनताको आक्रोशलाई मत्थर पार्ने काम गर्न नहुने उनको भनाई छ । जनताको आक्रोशबाट बच्न राज्य संयन्त्रले कर्मचारीहरुलाई बलीको बोका बनाउन नहुने उनले बताए । घटनाको शुक्ष्म छानविन गरी दोषीलाई कारबाही गर्न उनले गृहमन्त्रीलाई सुझाव दिए ।
वर्तमान सरकारले भ्रष्टाचारीलाई क्याविनेटमा राखेर प्रधानमन्त्री र गृहमन्त्रीले सुशासनको कुरा गर्दै हिँडेको उनको आरोप छ । श्रममन्त्री शरदसिंह भण्डारीले सात सय पर्ने अभिमुखीकरण तालिमको प्रमाणपत्र लिन दुई हजार आठ सय उठाएको उनको आरोप छ ।