Logo

लोकतन्त्र ल्यायौं भनेर ढुकुरे छाती पिट्नेले जनतामा देखिएको वितृष्णाको जिम्मा लिनुपर्दैन ?



काठमाडौं, १६ पुस । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले लोकतन्त्र ल्याएका दलहरुबाट नै व्यवस्थामाथि खतरा बढेको टिप्पणी गरेका छन् । आज (सोमबार) राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र गणतन्त्र ल्याउने दलहरुप्रति जनतामा व्यापक असन्तुष्टि बढेकाले व्यवस्था खतरामा रहेको बताएका हुन् । जनतामा देखिएको निराशा निराधार नभएको उनको भनाई छ ।

लोकतन्त्र र गणतन्त्रको सीमाभित्र जनतालाई सुशासन दिन,भ्रष्टाचार न्यूनिकरण गर्न, राष्ट्रियता, सार्वभौमता र अखण्डता रक्षा गर्न राजनीतिक दलहरु चुकेको उनको आरोप छ । हामीले लोकतन्त्र ल्यायौं भनेर छाती पिट्नेहरुले जनतामा व्यवस्थाप्रति देखिएको वितृष्णको जिम्मा लिनुपर्ने उनले बताए । राजनीतिक दलहरुका कारण जनतामा बढेको वितृष्णाले लोकतन्त्र र गणतन्त्रको औचित्य छैन भन्नेको मनोबल बढिरहेको उनले बताए ।

‘लोकतन्त्र, गणतन्त्र हामीले ल्यायौं, संविधान सभाको चुनाव हामीले गरायौं, संविधान हामीले लेख्यौं भनेर ढुकुरे छाती पिट्ने ? अहिले जनतामा लोकतन्त्र र गणतन्त्रप्रति आएको वितृष्णाको जिम्मा हामीले लिनुपर्छ कि पर्दैन । हाम्रै कारणले जनतामा वितृष्णा आएको छ । लोकतन्त्र र गणतन्त्रको औचित्य छैन भन्नेको मनोबल बढिरहेको छ,’– उनले भने ।

साथै, नेपालमा लसुन, प्याज, खुर्सानी र अन्नपात पनि हुन्न भन्नेसम्मको भ्रम फैलाइएको उनले बताए । युवाहरु विदेश पलायन भइरहेको अवस्थामा नेपालमा आवश्यक कृषि उत्पादनतर्फ युवालाई किन लगाउन सकिएन भनेर सबै दलहरुले छलफल गरेर समाधान निकाल्न पर्ने उनले बताए । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्