Logo

‘राजतन्त्र राँकेभूतमात्रै हो, डराउनुपर्ने अवस्था छैन’



काठमाडौं, १६ पुस । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्रलाई राँकेभूतको संज्ञा दिएका छन् । आज (सोमबार) नेपाली कांग्रेसले मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्रबाट डराउन पर्ने अवस्था नगरहेको बताए ।

‘राजतन्त्र राँकेभूतमात्रै हो, त्यसबाट डराउन पर्ने अवस्था छैन,’– अध्यक्ष भट्टराईले भने ।

साथै, संघीय लोकतान्त्रिक गणतन्त्रको वृक्षमा फल नलागेको उनले टिप्पणी गरे । उनले लोकतन्त्रको वृक्षमा फल नलाग्दा जनतामा निराशा र वितृष्णा बढिरहेको बताए । यस विषयलाई सबै राजनीतिक दल र नेताहरुले गम्भीरतापूर्वक लिन आवश्यक रहेको उनले बताए ।

पूर्व प्रधानमन्त्री भट्टराईले अहिलेको व्यवस्थामा केही त्रुटि देखिएको ठोकुवा गरे । उनले अब केही विकल्प खोजेर देशको राजनीतिलाई निकास दिन आवश्यक रहेको बताए । उनले संयुक्त सरकार, पूर्ण समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरी प्रतिशतको आधारमा सरकारमा सहभागिता वा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली अहिलेको व्यवस्थामा देखिएको कमजोरीको विकल्प हुनसक्ने बताए ।

‘यो शासकीय स्वरुप र निर्वाचन प्रणालीमा केही त्रुटि देखियो । प्रधानमन्त्रीलाई सरकार कतिबेला जाने भन्ने छ । अनि कसरी सुशासन हुने ।’ उनले भने, ‘कि त अब सबै प्रमुख दलको संयुक्त सरकार बनाउँ । पाँचै वर्ष सरकार चलाउँ । कि पूर्ण समानुपाति गरौं, जसले जति प्रतिशत मत ल्याउँछ त्यही अुनुसार सरकारमा सहभागी होऔं । कि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाउँ ।’

द्वन्द्वकालीन मुद्दाका विषय माओवादीको मात्रै समस्या नभएकाले सबै मिलेर सहमति खोज्नुपर्ने उनले आवश्यकता औंल्याए । एकले अर्कोलाई दलालको आरोप लगाउनु भन्दा पनि समग्रतामा राष्ट्रिय हितका विषय सधैंका निम्ति हल गर्ने तर्फ जान आवश्यक रहेको उनले बताए । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot