Logo

जनताको ध्यान अन्यत्र मोड्न प्रचण्डले बालकुमारी घटनलाई डिजाइन भनेः भीम रावल



काठमाडौं, १७ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको ध्यान अन्यत्र मोड्न बालकुमारी घटनालाई डिजाइनको संज्ञा दिएको आरोप लगाएका छन् । प्रधानमन्त्री प्रचण्डले हिजो (सोमबार) राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको सभामा दुई जना युवाको हत्या हुनेगरी भएको बालकुमारी घटना डिजाइन हुनसक्ने आशंका व्यक्त गरेका थिए । प्रधानमन्त्री प्रचण्डको सोही अभिव्यक्तिमाथि आपत्ति जनाउँदै नेता रावलले सो डिजाइन कसले, किन र कसरी गरेको हो भनेर प्रष्ट रुपमा भन्नुपर्ने बताएका हुन् ।

कांग्रेसका स्वर्गीय नेता गिरिजा प्रसाद कोइरालाले ‘ग्रायण्ड डिजाइन’ भन्ने तर कसले, कहाँ, कसरी र किन गरिरहेको छ भनेर कहिल्यै नभनेरै झुठो प्रचारको भरमा सत्ता स्वार्थ पुरा गरेको उनको आरोप छ । प्रधानमन्त्री प्रचण्डलाई नेता रावलले गिरिजाको प्रशंसकको संज्ञा दिँदै उनकै शैली अपनाएको आरोप लगाएका छन् । साथै, उनले प्रधानमन्त्री प्रचण्डले उक्त घटनालाई डिजाइनको संज्ञा दिएर जनताको ध्यान मोडी भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका बेला स्वेच्छाचारी निर्णय र सम्झौता गर्ने ‘डिजाइन’ त होइन ? भनी आशंका व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

गिरिजा प्रसाद कोइरालाले सधैं ‘ग्र्याण्ड डिजाइन’ भन्ने तर कसले, कहाँ, कसरी र किन गरिरहेको छ भनी कहिल्यै नभनी यस्तो प्रचारको आवरणमा सत्ता स्वार्थ पूर्ति गर्ने खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले केही समय अघि देखि व्यवस्थामाथि खतरा उत्पन्न भएको कुरा गर्दै हाल आएर बालकुमारी हत्याकाण्डमा ‘डिजाइन’ भएको भनेका छन्। यस्तो ‘डिजाइन’ कसले, कसरी, कहाँ र किन गरिरहेको हो भन्नेबारे जनउत्तरदायी व्यवस्थाका प्रमंले स्पष्ट भाषामा भन्नुपर्छ।अन्यथा जनताको ध्यान निम्न लिखित राष्ट्रिय हित र अस्मितासँग सम्बन्धित विषयबाट अन्यत्र मोडेर सत्ता स्वार्थका लागि भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका बेला स्वेच्छाचारी निर्णय र सम्झौता गर्ने स्वयं प्रमंको ‘डिजाइन’ त होइन भनी आशंका किन नगर्ने ?



प्रतिक्रिया दिनुहोस्