Logo

गायक नवीन पौडेलको प्रस्तुतिले तात्यो मरिण सांस्कृतिक एवं पर्यटन महोत्सव



काठमाडौं, १७ पुस । अझ भनौँ मौशम सेलाउदै थियो, चारैतिर डाँडाकाडाले भरिएको मरिण उपत्यका गीत संगीतले तात्दै थियो। सिन्धुलीको मरिण गाउपालिका–४ स्थित रङ्गशालामा बृहत् मरिण साँस्कृतिक एवं पर्यटन महोत्सव समापन समारोह चलिरहेको थियो। यहि महोत्सवको समापनको दिनमा अतिथि कलाकारको रुपमा आमन्त्रण गरिएका थिए जनताका गायक नवीन पौडेल।

सिन्धुली उद्योग बाणिज्य संघ मरिण शाखाको आयोजनामा आयोजित महोत्सव अध्यक्ष चिनध्वज बम्जनको अध्यक्षतामा भएको थियो। समापन समारोहको प्रमुख अतिथि मरिण गाउपालिकाका अध्यक्ष विमर्श मोक्तान प्रख्यात थिए ।

गाउपालिकाका उपाध्यक्ष बिमला माझी, सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, पूर्ब गाउपालिका अध्यक्ष पानीराज बम्जन, गाउँपालिका कार्यकारी प्रमुख ओम बहादुर दर्जी, नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका प्रमुख अशोक श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरु आमन्त्रित थिए ।

पुस छ गतेदेखि सञ्चालित महोत्सवको समापन समारोहमा गायक पौडेलले प्रस्तुति दिइरहेका थिए । उनले गीत मार्फत जनतालाइ जागरुक हुन प्रेरित गरिरहेका थिए। उनले भनिरहेका थिएः

‘ब्यथिती नै ब्यथिती छ सुध्रीने हो कहिले ?
पहिला बरु राम्रै थियो झन बिग्रियो अहिले ।
कोही भन्छन् राजा आउ, देश बचाउ ।
कोहि भन्छन् दलहरुको मति सच्याउ ।
मत भन्छु– यो देशलाइ काँयापलट गरने धर्ती पुत्र आउ ।
लेउ खुकुरी लेउ, जनता लेउ खुकुरी लेउ ।
भ्रष्टाचारी जतीलाई पुर्याइदिउँ छेउ ।’

उनले उक्त गीतमा प्रस्तुति दिइरहँदा उपस्थित बृद्द बृद्दा, आमा बुवा, दाजुभाइ दिदिबहिनी युवा, युवती लगायत हजारौँ दर्सकले उनी सङ्गसङ्गै गीत गाइरहेका हुन्थे। दर्शक सबैले ढल्किसकेको रात र चिसो मौशमको प्रवाह नगरी पौडेललाई साथ दिइरहेका थिए । सबैले सङ्गसङ्गै गाइरहेका थिए।

उनका गीतमा साच्चिकै जनताका भावना, यथार्थता, समयसापेक्षता, भ्रष्टाचार एवं ब्यथितीप्रति तीखो व्यङ्ग्यवाण पाइन्थ्यो। उनले ‘लेउ खुकुरी लेउ’ भन्न नपाउँदै दर्शकदीर्घाबाट आवाज आउथ्यो– ‘भ्रष्टाचारी जतिलाई पुर्याइदिउँ छेउ।’

‘वान्स मोर, वान्स मोर’ को आवाजमा घेरिएका नवीनले करिब आधा दर्जन गीत प्रस्तुत गरे।
‘मत हजुर निजामतीको म पनित स्वतन्त्रै छु आँखा त लाग्लान कतिको, मत हजुर न्याय सेवाकी म पनि त स्वतन्त्रै छु होइन म कोहीको पेवाकी’ यो गीत उनको बजारमा आउदै गरेको नया गीत रहेछ। यो गीत गाउदा पनि दर्शकले उत्तिकै साथ दिए। के सम्झनु छ र जान्न मत त्यो घर, घर मेरो सुदुरपश्चिम, हरहर वासना अगरबत्तीको, बुलाकी झुम्काना, मन परेरै हो मन परेरै हो मैले तिम्लाई हेरेको मन परेरै हो लगायतका गीत प्रस्तुत गरिरहदा दर्सकले उत्तिकै साथ दिइरहेका थिए।

पाल्पा जिल्लाको बगनासकाली गाउपालिका दर्लमडाडामा बुबा लिलाधर पौडेल र आमा कमलादेवि पौडेलको कोखबाट २०३६ सालमा जन्मिएका गायक पौडेलले सिन्धुलीमा पनि जन्मभूमिमा जत्तिकै माया पाएको अनुभूति हुन्थ्यो।

त्यसो त सांगितिक यात्राकै क्रममा नेपालका लगभग सबैजसो भू–भाग र विश्वका धेरै मुलुकहरु अस्ट्रेलिया, जापान, जर्मनी, लक्जेम्बर्ग, बेल्जियम, इटली, डेनमार्क, स्विजर्ल्याण्ड, स्विडेन, हल्याण्ड, नेदरल्यान्ड युएई, कतार, थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डिया, बाङ्लादेश लगायतका देशै देशहरुमा गएर त्यहा रहेका नेपालिहरुलाइ नचाइसकेका छन् ।

जनताका चेतनाका गीत गाएरनै होला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री चतुर्थ, संस्कृती मन्त्रालयबाट पचास हजार नगदसहित बागमती प्रादेशिक प्रतिभा पुरस्कार, बाग्मती प्रदेश सरकारबाट कलाकृती मानपदवी, र अमेरिकाको टेक्सास राज्यस्थित हेम सरिता पाठक फाउन्डेसनबाट सर्बोत्कृष्ट भ्रष्टाचार विरोधी गीत गाएवापत एक लाख तेत्तिस हजार नगदसहित अन्तराष्ट्रिय संगित पुरस्कार पनि प्राप्त गरेका छन् ।

उनी अन्तराष्ट्रिय कलाकार मञ्च नेपालका उपाध्यक्ष, कलाकार कल्याणकारी कोषका सदस्य, राष्ट्रिय लोक भजन संस्कृती संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य एवं लोक संस्कृती संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय महासचिवसमेत रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot