Logo

कर्मचारीलाई बर्खास्त गर्ने अधिकार मन्त्रीलाई दिनुपर्छः कांग्रेस नेता खड्का



काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक खड्काले कर्मचारीलाई बर्खास्त गर्ने अधिकार मन्त्रीलाई दिइनुपर्ने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कर्मचारीले नेतालाई र नेताले कर्मचारीलाई दोष देखाउने परिपाटीबाटै भ्रष्टाचार भइरहेको बताए । उनले विभिन्न बहानामा काम नगर्ने र ढिलासुस्ती गर्ने कर्मचारीलाई मन्त्रीले बर्खास्त गर्न पाउनुपर्ने बताएका हुन् । आफू जनप्रतिनिधिसँगै व्यवसायी पनि भएको बताउँदै उनले आफूले खोलेको होटलको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लिन धेरै दुःख पाएको सुनाए । आफूले दुःख पाएपछि व्यवसायीको समस्याबारे ज्ञान भएको उनले बताए ।

‘जनप्रतिनिधि हुँदै गर्दा म एउटा व्यवसायी पनि हुँ । व्यवसाय पनि गर्छु । मैले पटक–पटक भन्ने गरेको छु– राजनीति गर्ने मान्छेहरुले व्यवसाय पनि गर्न जरुरी छ । व्यवसायीहरुमा समस्या कस्ता रहेछन् भन्ने कुरा मेरो आफ्नै व्यवसायका कारण मैले थाहा पाएँ,’– उनले भने ।

इआइएको विषयलाई लिएर चार वर्ष पर्यटन मन्त्रालयमा फाइल राखिएको उनको भनाइ छ । पर्यटनबाट वन मन्त्रालयमा पठाइएपछि पहिल्यै स्वीकृति लिनुपथ्र्यो भनेर पेनाल्टी तिराइएको बताए । चार वर्षदेखि फाइल थन्क्याइदिएर राज्यले व्यवसायीलाई पेनाल्टी तिर्न बाध्य पारेको उनको भनाइ छ । पेनाल्टी तिरेपछि पनि चार महिनासम्म इआइए पास नगरिदिएको उनले बताए ।

अहिले आएर निकुञ्जकको समस्या देखाएर दुई तला भन्दा अग्लो होटल बनाउन पाइँदैन भनेर आफूलाई दुःख दिइएको उनको भनाइ छ । राजगारी सिर्जना गर्ने, लगानी भित्र्याउने कार्यमा वनमन्त्री सकारात्मक रहेको उनले बताए । तर, कर्मचारीको असहयोगका कारण जनताले दुःख पाउने गरेको उनले बताए ।

पटक–पटक मन्त्रालयबाट आफूले दुःख पाएपछि मन्त्रीको समय लिएर आफू मन्त्रालयमा गएको उनले बताए । रोजगारी सिर्जना गर्न खोज्दा विभागको कार्यविधिले आफूलाई दुःख दिइएको उनले बताए । मन्त्रीलाई यो कति समयको काम हो भन्दा ‘गर्यो भने ५/१० मिनेटको समय हो’ भन्ने जवाफ दिएको र मन्त्रीले म सही गर्छु ल्याउनुस् भन्दा पनि कर्मचारीले काम गर्ने वातावरण नबनाएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot