Logo

बलात्कार र महिलामाथि हुने हिंसाको विरोधमा नेपाली कथानक श्रृंखला ‘आरती’ निर्माण



काठमाडौं, १८ पुस । बलात्कार र बलात्कारपछि हुने क्रूर हत्याको विरोधमा नेपाली कथानक श्रृंखला ‘आरती’ निर्माण भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ‘आरती’ का बारेमा जानकारी दिइएको हो । रे ईन्टरटेनमेन्ट तथा श्रीयान इन्टरटेनमेनटले प्रा.लि.ले निमार्ण गरेको यस कथानक श्रंखलामा कथा र निर्देशन रोशन दासको रहेको छ । उक्त आरती मुभीमाका निर्माता आशिष कुमार दास रहेका छन् ।

त्यसैगरी संवाद हिक्मत शर्माको रहेको छ । गायन रामकृष्ण ढकाल, अस्मिता अधिकारी, मनिष अधिकारी, असरिया हुमागाईँको रहेको छ । संगित अभिनाश राईको र शब्द संसार अधिकारी, रोशन दास र मनिष बिशिष्ट लगायतको रहेको छ । रजनी सचेतना नेपाल फाउन्डेसनको सहयोगमा यस कथानक श्रृङ्खलाले नेपाली समुदायमा महिलाको अवस्था र पित्रृसत्ताले महिलामाथि गरेको दमनलाई उजागर गर्न खोजिएको बताइएको छ ।

कार्यक्रममा वक्ता सौरभ चौलागाईँले पछिल्ला वर्षहरुमा घटेका बलात्कारका घटनाको विरुद्धमा ‘आरती’ निर्माण भएको बताए । त्यस्तै, अर्का वक्ता राज पौडेलले ‘आरती’ महिला हिंसा र दुर्व्यवहारका विरुद्धमा रहेको बताए । निर्मला पन्त र आरती साह त केवल यसका उद्धाहरणमात्र भएको बताउँदै उनले समाजका गुमनाम घटनालाई सम्बोधन गर्ने गरी ‘आरती’ निर्माण भएको बताए ।

त्यसैगरी, रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले बलात्कारका घटना धेरै भइरहेको बताए । दुरदराजमा बलात्कार र महिला हिंसा र शोषण डरलाग्दो रहेको उनको भनाइ छ । महिलाहरुलाई दबिएर नबस्नसमेत उनले आग्रह गरे । उनले बलात्कारपछि मारिएकी निर्मला पन्त र आरती साहको घटनापछि आफूले थुप्रै कोणबाट बहस गरेको स्मरण गराए । निर्मला पन्तको बलात्कारी र हत्यारा कहाँ छ भन्नेबारे राज्य र सुरक्षा निकाय बेखबर रहेको भन्दै उनले दुःख व्यक्त गरे । आफूले समाज परिवर्तनका लागि काम गर्नेहरुलाई जहिले पनि सहयोग गरेको बताउँदै उनले आरती टिमलाई पनि सहयोग गर्न तयार रहेको बताए ।

उक्त कार्यक्रममा विद्यानान्द चौधरी र रजनी थापा लगायतले आफ्नो धारणा राखेका थिए । घरमा जन्मिँदै छोरीलाई भाँडा माझ्न, लुगा धुन सिकाउने समाजले छोरा जन्मिँदै महिलालाई सम्मान गर्नुपर्छ भन्ने सिकाउन आवस्यक रहेको उनीहरुले बताए । कार्यक्रम सञ्चालन सुजिना डङ्गोलले गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्