Logo

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणमा सरकारले देशको हितमा अडान लिन सक्नुपर्छः एमाले नेता रिजाल



काठमाडौं, १८ पुस । नेकपा (एमाले) का नेता तथा विदेश विभागका उपप्रमुख विष्णु रिजालले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा नेपालका सरकारले देशको हितमा अडान लिन सक्नुपर्ने बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षतकार कायक्रमलाई सम्बोधन गर्दै उनले छिमेकी मुलुकसँग आफ्नो देशको हितमा अडान राख्दा कुनै पनि राष्ट्र नरिसाउने उनले बताए । उनले एमालेको तर्फबाट भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण सफताको कामना व्यक्त गरे ।

नेपालको तुलनामा भूगोल, अर्थतन्त्र र जनसंख्याको आधारमा भारत ठूलो भएपनि सार्वभौम सत्ताको दुृष्टिले दुवै देश समान हैसियतमा रहेको उनको भनाइ छ । सार्वभौमसत्ता र देशको हितलाई ध्यानमा राखेर सरकारले आफ्ना कुराहरु राख्नुपर्ने उनले बताए ।

केपी शर्मा ओली प्रधानमन्त्री भएको वखत संविधान संशोधन गरेर नेपालको वास्तविक भूभागसहित राखेर नक्सा सार्वजनिक गर्दा आफूहरुले भारत सरकारसँग वार्ता र छलफलबाट समाधान खोज्न आग्रह गरेको उनले बताए । त्यसपछि सरकार परिवर्तन भएको र वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण हुँदा यस विषयलाई कार्पेटमुनि लुकाइएको उनको टिप्पणी छ ।

‘भारत सरकारसँग यस विषयमा वार्ता गरोस्, छलफल गरोस् । ऐतिहासिक सन्धि, सम्झौता, लिखत, नक्सा र प्रमाणहरुका आधारमा यो समस्यालाई समाधान गरोस् भन्ने हामीले अपेक्षा गर्यौं ।’ उनले भने, ‘दुःखको कुरा हाम्रा समाननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा यो विषयनै उठाउनु भएन । भएका समस्याहरु, फोहोरलाई कार्पेट मुनी राखेर समस्याको समाधान निस्किँदैन ।’

एमालेले कसैलाई पनि नहेप्ने र आफू पनि नहेपिने उनको भनाइ छ । एमाले समस्याहरुलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्ने उनले बताए । भ्रमणका क्रममा नेपालले भोगिरहेको समस्याबारे जोडदार रुपमा आवाज उठाउन आवस्यक रहेको उनले बताए । भारतमा चिकित्सा अध्ययन गरिरहेका नेपालीहरुलाई त्यहाँ समान कामको समान ज्याला नरहेको र भारत भ्रमणका क्रममा नेपालीहरुले त्यहाँ सहज रुपमा सिमकार्ड नपाउने लगायतका विषयमा पनि जोडदार रुपमा कुरा राख्नुपर्ने उनको माग छ ।

नेपाल र भारतबीच रहेका जतिपनि समस्यालाई वार्ता र संवादको माध्यमबाट समाधान खोजेर समाधान हुन नसकेका कुरालाई पुनः वार्ता र संवादको वातावरण बनाउनुपर्ने उनको भनाइ छ । एस जयशंकरको नेपाल भ्रमणका क्रममा राष्ट्रिय हित, मर्यादा, स्वाभिमान र राष्ट्रिय स्वार्थको कुरा राख्न उनले नेपाल सरकार र परराष्ट्रमन्त्रीलाई आग्रह गरे ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले लगाएको नाकाबन्दी फिर्ता नलिएसम्म भारत भ्रमणमा जान्न भनेर अडान लिएको उनले स्मरण गरे । उनले अन्ततः भारतले बाध्य भएर नाकाबन्दी फिर्ता लिएको दाबी गरे । आफ्नो देशको राष्ट्रिय हितका बारेमा अडान लिँदा छिमेकीले पनि सम्मान गर्ने बताउँदै उनले राष्ट्रिय हितमा अडिग रहन सरकारलाई आग्रह गरे ।

वर्तमान सरकारले कुनै काम गर्न नसकेको उनको दाबी छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सरकारले काम गर्न नसकेको भन्दै राजीनामा दिएको उनले बताए । माओवादी र कांग्रेसबीच कुनै सिद्धान्त र नीति नमिल्ने उनको दाबी छ । अन्य देशहरुको अभ्यास हेर्दा पनि यस्ता प्रकारको सत्ता गठबन्धन नपाइने उनको दाबी छ । अहिलेको गठबन्धन सरकार टाउकाको मूल्य तोक्ने र बम बारुद हान्नेबीचको अप्राकृतिक रहेको उनले बताए ।

‘लोकतन्त्रमा गठबन्धनलाई म निरपेक्ष ढंगले हेर्दिन । तर, विपरीत अवस्था, दर्शन, नीति र विचारमा रहेका दलहरु विगतमा एकअर्काको टाउकाको मूल्य तोक्ने र बम बारुद हान्नेबीचको एकता अप्राकृतिक र असान्दर्भिक छ,’– उनले भने ।

नेपालको संविधान जारी हुँदै गर्दा भारतीय विदेश सचिवको रुपमा रहेका एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएका थिए । उनले सन् २०१९ मा पनि विदेश मन्त्रीका रुपमा नेपाल भ्रमण गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्