काठमाडौं, १९ पुस । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले आफूलाई उन्नत लोकतान्त्रिक गणतन्त्रको पिता भन्नेहरुले नै संविधान र व्यवस्थाको धज्जी उडाइरहेको टिप्पणी गरेका छन् । भागबण्डा, स्वार्थपरक राजनीति र नेतृत्वको मनोमानीमा देश आक्रान्त बनेको उनको भनाइ छ । समावेशी भनिएको संविधानमा नेतृत्वहरुले समानुपातिमा श्रीमती र पैसालाई प्राथमिकता दिएको उनको आरोप छ ।
अहिले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि सोही प्रवृति दोहोरिने निश्चित रहेको दाबी गर्दै उनले संविधान निर्माण गरेकाहरुले नै संविधान नमानेको टिप्पणी गरे । उनले नेताहरुले संविधान च्यातिसकेको समेत टिप्पणी गरे ।
‘समानुपातिकमा श्रीमती, पैसा, राष्ट्रिय सभामा पनि गाईजात्रा, भागभण्डाले समावेशी भनिएको संविधान आज तिनै नेताहरूले आफैंले च्यातिसकेका छन्,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।
भागबण्डाको कारण प्रत्येक क्षेत्रबाट प्रतिनिधित्व गर्ने गरी राष्ट्र निर्माणको महायज्ञमा सरिक हुने जनताको सपना चक्नाचुर भएको उनको भनाइ छ । उनले दलीय स्वार्थ शिद्ध गर्ने र राज्य दोहनका निमित्त खुलेका राजनीतिक दलीय कम्पनीहरूले आम नेपाली जनताको भावनालाई अङीकार गर्न नसकेको बताए ।
साथै, उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई ‘लादिएको तन्त्र’ को संज्ञा दिए । यस व्यवस्थामा सीमित नेताहरूले मात्रै स्वार्थपूर्ति गर्ने र देश र जनताको हित नहुने उनको तर्क छ ।
न्यायालय, त्रिभुवन विश्वविद्यालय, कूटनीतिक, प्राज्ञिक संस्था संवैधानिक आयोगदेखि सबै क्षेत्रमा कोटा दलीय भागबण्डाले गर्दा अवस्था र व्यवस्थाप्रति जनतामा आक्रोश र नैरास्यता बढेको उनको दाबी छ । विश्लेषक रायमाझीले नेताको चाकडी गर्नैपर्ने, दलाली र भ्रष्टाचार बिना कुनै पनि क्षेत्रमा योग्य दक्ष मान्छेले स्थान नपाउने अवस्थाको अन्त्य हुनुपर्ने आवश्यकता औंल्याए ।
शिक्षा र स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्रमा समेत अहिले माफिया राज रहेको उनको आरोप छ । राजनीतिक नेतृत्वले जनतालाई दासको रुपमा हेरेको उनले टिप्पणी गरे । जनताले यतिधेरै कर तिर्दा पनि देश र जनताको पक्षमा कुनै सकारात्मक र राम्रा काम वर्तमान सरकारले पनि गर्न नसकेको प्रति उनको आक्रोश छ । वर्तमान सरकारलाई असफल राजनीतिक नेतृत्वको संज्ञा दिँदै उनले अब नेपाली जनताले यस्तो अवस्थालाई अनदेख गर्न नहुने बताए ।
माफिया, तस्कर र राजनीतिलाई पेशा बनाउनेहरुलाई जनस्तरबाटै प्रतिकार गर्दै नागरिकले आफ्नो अधिकारको सुरक्षा गर्नुपर्ने अवस्था आएको उनले बताए । साथै, उनले युवाहरुलाई हार मानेर विदेश पलायन नहुन समेत आह्वान गरे । उनले देशभित्रै केही गर्ने संकल्पसहित सशक्त विद्रोह गर्नुपर्ने आवस्यकता औंल्याएका छन् ।
‘सार्वभौम सत्ता सम्पन्न नेपालीले हार मानेर विदेश भाग्ने होईन, यही देशभित्र एकपल्ट सशक्त युद्ध गर्नैपर्छ । शान्ति र स्थायित्वको लागि,’– विश्लेषक रायमाझीले भने । File Photo/RN