Logo

राष्ट्रिय सभा निर्वाचनः कोशी प्रदेशमा कसले मार्ला बाजी ? यस्तो छ अङ्कगणित…



काठमाडौं, २० पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन हुने भएको छ । सत्तारुढ दलबीच भागबण्डा मिलाउन लामो समयदेखि रसाकस्सी चलेपनि अहिलेसम्म टुङ्गो भने लाग्न सकेको छैन । राष्ट्रिय सभा निर्वाचनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई शून्य नबनाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग गरेको आग्रह संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ठाडै अस्वीकार गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलले गठबन्धन गरेमा एमाले सबै प्रदेशमा शून्य हुने निश्चित छ ।

यस्तो छ कोशी प्रदेशको अङ्कगणित

कोशी प्रदेशमा ९३ जना प्रदेश सभा सदस्य र दुई सय ७४ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष मतदाता रहेका छन् । जसमध्ये प्रदेश सभामा एमालेका ४०, कांग्रेस २९, माओवादी १३, राप्रपा ६, एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टीबाट १ जना सांसद रहेका छन् । प्रदेश सभा सदस्यको मतभार ५३ रहेको छ ।

त्यसैगरी, स्थानीय तहतर्फ प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षमा कांग्रेसबाट एक सय १५ जना, एमालेबाट एक सय १० जना, माओवादी केन्द्रबाट ३१ जना, राप्रपाबाट ४ जना, एकीकृत समाजवादीबाट ७ जना, जनता समाजवादीबाट ४ जना र स्वतन्त्र ३ जना मतदाता रहेका छन् । स्थानीय तहतर्फ प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको मतभार १९ रहेको छ ।

यसका आधारमा कोशीमा नेकपा (एमाले) को स्थानीय तहतर्फको मतभार २ हजार ९०, प्रदेश सभा सदस्यको मतभार २ हजार १ सय २० गरी कूल मतभार ४ हजार २ सय १० रहेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसको स्थानीय तहतर्फको मतभार २ हजार १ सय ८५, प्रदेश सभातर्फको मतभार १ हजार ५ सय ३७ गरी कूल मतभार ३ हजार७ सय २२ रहेको छ ।

नेकपा (माओवादी केन्द्र) को स्थानीय तहको मतभार ५ सय ८९, प्रदेश सभा सदस्यतर्फको मतभार ६ सय ८९ गरी कूल मतभार १ हजार २ सय ७८ रहेको छ ।

त्यसैगरी राप्रपाको स्थानीय तहको मतभार ७६, प्रदेश सभा सदस्यतर्फको मतभार ३ सय १८ गरी कूल मतभार ३ सय ९४ रहेको छ ।

एकीकृत समाजवादीको स्थानीय तहको मतभार १ सय ३३, प्रदेश सभा सदस्यतर्फको मतभार २ सय १२ गरी कूल मतभार ३ सय ४५ रहेको छ । त्यसैगरी, जनता समाजवादीको स्थानीय तहको मतभार ७६, प्रदेश सभा सदस्यतर्फको मतभार ५३ गरी कूल मतभार १ सय २९ रहेको छ ।

त्यस्तै, स्थानीय तहका ३ जना प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको मतभार ५७ रहेको छ । यस आधारमा सत्ता गठबन्धन दलको कोशी प्रदेशमा मतभार ५ हजार ४ सय ७४ रहेको छ । एमालेसँग ४ हजार २ सय १० मतभार रहेको छ । एमालेभन्दा सत्ता गठबन्धन १ हजार २ सय ६४ मतले अगाडि छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य कुनै नाटकीय परिवर्तन नभएमा कोशीमा पनि एमाले शून्य हुने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot