पुस २०, काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. बाबुराम भट्टराईको इन्ट्री हुने सम्भावना बढेको छ । आज (शुक्रबार) आह्वान गरिएको विज्ञापनले बाबुरामलाई टियूको भिसी बन्न रोक लगाए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन् ।
लामो समयदेखि बाबुराम टियूको भिसी बन्नेबारे चर्चा चल्ने गरेको थियो । तर, आज प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष,महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने सूचना प्रकाशित गरिएको थियो ।
उक्त बुँदाले बाबुरामलाई टियुको भिसी बन्न रोक लगाएमा सो बुँदा संशोधन गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । यो सँग बाबुरामले चाहेको खण्डमा उनी टियूको भिसी बन्ने बाटो खुल्ला भएको छ ।
नेपालकै सबैभन्दा जेठो र विरासत बोकेको त्रिविको उपकुलपतिमा प्रधानमन्त्री प्रचण्डले ग्रिन सिग्नल दिएमा बाबुरामको इन्ट्री हुने सम्भावना प्रवल छ । यसलाई धेरैले बाबुरामको ‘ग्रेसफूल एक्जिट’ को रुपमा लिएका छन् ।