काठमाडौं, २० पुस । परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकबारे आफूहरुसँग परामर्श नगरिएको भन्दै नेकपा (एमाले) ले आपत्ति जनाएको छ । आज (शुक्रबार) पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले बैठकबारे प्रतिपक्षसँग परामर्श नगरिएको र उक्त बैठकका सम्झौताहरु पनि सार्वजनिक नगरिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।
‘दुई देशबीचको संयुक्त आयोगको बैठक आयोजना गरिएको र त्यहाँ के–के विषयमा छलफल भयो र के–के विषयमा सम्झौताहरु भए भन्ने कुरामा सत्ता पक्षले प्रतिपक्षसँग परामर्श गर्नुपर्नेमा नगरेको कुराप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ,’– बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी महासचिव शंकर पोखरेलले भने ।
राष्ट्रियताका प्रश्नहरुमा सत्ता पक्षले प्रतिपक्षलाई विश्वासमा लिएरमात्रै कामहरु गर्नुपर्नेमा एमालेसँग सरकारले कुनै परामर्श नगरेको महासचिव पोखरेलले बताए । नेपाल–भारत संयुक्त आयोगको के–के विषयमा सहमति, सम्झौता भए भन्नेबारे स्पष्ट नपारिएको सन्दर्भमा सरकारका तर्फबाट भएका कमजोरीहरुको आलोचना गरिएको उनले बताए । साथै, एमालेले सहमति र सम्झौताका विषय प्रष्ट पार्न सरकारसँग माग गर्ने निर्णय गरेको महासचिव पोखरेलले बताए ।