काठमाडौं, २० पुस । नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज (शुक्रबार) पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रिय सभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग आग्रह गरेको ब्रिफिङ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलको बैठकमा गरेपछि शंका उपशंकाको वातावरण सिर्जना गरेको थियो ।
नेकपा (एकीकृत समाजवादी) ले एमालेलाई पनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा लिएर जान अस्वीकार गरेको थियो । त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत एमालेलाई राष्ट्रिय सभामा भाग दिने कुराको गठबन्धन दलको बैठकमै विरोध गरेपछि १९ वटै सिटमा उम्मेदवारी दिने निर्णयमा एमाले पुगेको हो ।
आगामी माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये प्रत्यक्षतर्फको १९ सिटमा निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलसँग प्रतिस्पर्धा गर्दा एमालेले कुनै पनि स्थानबाट जित हासिल नगर्ने निश्चित छ ।