Logo

प्रधानमन्त्री प्रचण्डले घातक निर्णय गरेको वामदेवको आरोप



काठमाडौं, २० पुस । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल राष्ट्रलाई बर्वाद पार्ने घातक निर्णय गरेको आरोप लगाएका छन् ।

हिजो (पुस १९ गते) परराष्ट्र मन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरबीच नेपाल सरकारको अनुमति विना भारतीय दूतावासले नेपालका कुनै पनि प्रोजेक्टमा प्रति प्रोजेक्ट २० करोड लगानी सहयोग गर्नसक्ने गरी निर्णय भएको भन्दै उनले आपत्ति जनाएका हुन् । नेता गौतमले उक्त निर्णयलाई नेपालको इतिहासमा थप अर्को कलङ्कित घटनाको संज्ञासमेत दिएका छन् ।

उक्त निर्णयसँगै भारतीय दूतावासले एकै पटक ७५३ पालिका र ७ प्रदेशलाई सहयोग दिनसक्ने उनको भनाइ छ । साथै, सडक परियोजना, खानेपानी परियोजना र अन्य कुनै पनि परियोजनामा बाँड्नसक्ने दाबी गर्दै उनले उक्त निर्णयले स्वतन्त्रता, सार्वभौमिकता र स्वाधिनतामा आँच पुर्याएको बताएका छन् ।

सरकारको उक्त निर्णयविरुद्ध देश र विदेशमा रहेका सम्पूर्ण नेपाली जनता र तीनै तहका सरकारलाई विरोधमा उत्रिन उनले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्