Logo

सर्लाहीका सिडिओ धमलाको स्पष्टोक्तिः ‘प्रदर्शनकारीले प्रहरीको हतियार खोस्दा गोली पड्कियो’



काठमाडौं, २१ पुस । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले प्रदर्शनकारीले प्रहरीको हतियार खोस्ने क्रममा गोली पड्किँदा एक जनाको मृत्यु भएको बताएका छन् । आज (शनिबार) पत्रकार ऋषि धमलासँग रेडियो कार्यक्रम ‘नेपाली बहस’ मा संवाद गर्दै सिडिओ धमलाले उच्च सुरक्षा संयमता अपनाउँदा पनि हतियार खोसाखोस हुँदा गोली पड्किएको र सो गोली लागेर एक जनाको मृत्यु भएको बताएका हुन् ।

‘प्रहरीको हतियार खोस्न आएर, हतियार खोसाखोस हुँदाखेरी पड्केको गोली लागेको हो, खोस्नेलाई होईन, अरु कसैलाई गोली लागेको हो भन्ने कुरा आएको छ ।’ उनले भने, ‘अब यी कुरा कसरी चल्यो ? कस्तो गोली चल्यो ? कसले चलायो ? कहाँ लाग्यो भन्ने कुरा चाहीँ प्राविधिक पाटो हो । यो अनुसन्धानबाट देखिने विषय हो ।’

आफूले शक्ति प्रयोग गर्ने र गोलीनै चलाउने आदेश नदिएको उनले बताए । विवादको विषय नगर अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कि नगरपालिका मातहतमा राख्ने भन्नेबारे रहेको उनले बताए । उक्त अस्पताल प्रदेश सरकार मातहतमा हुनुपर्छ भन्ने पक्षले हिजो आन्दोलन आह्वान गरेको उनको भनाइ छ । आफूहरुले सुरक्षाको दृष्टिकोणबाट आँलन गरिएको सुरक्षा प्रदान गर्दागर्दै पनि उक्त दुःखद् घटना घटेको उनको भनाइ छ । उनले कसरी गोली चल्यो, कुन अवस्थामा चल्यो भन्ने अनुसन्धानबाट खुल्ने बताए ।

‘हामीले त्यहाँका इन्चार्जलाई सुरक्षा संयमता अपनाउनु भनेर अन्तिम समयसम्म भनेको हो । तर, मैले यसो भनिरहँदा फेरि कुन अवस्थामा गोली चलाउनुपर्यो भन्ने बारेमा अनुसन्धान हुन बाँकी छ,’– सिडिओ धमलाले भने, ‘अहिले चाहीँ म के भन्नसक्छु भने शक्ति प्रयोग गर्ने आदेश होईन । त्यहाँ कसरी, कुन अवस्थामा कसरी गोली चलेको हो ? या चलाउन परेको हो भन्ने बारेमा हामीले छानविन गर्न बाँकी छ । गोली चलेको हो । गोली लागेरै मृत्यु भएको हो भन्ने हाम्रो अहिलेसम्मको अनुमान हो ।’

सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा गोली लागेर हिजो (शुक्रबार) जयशंकर साहको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्