काठमाडौं, २१ पुस । नेकपा (एमाले) का प्रभावशाली नेता एवं विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफूहरुले राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता पक्षसँग कुनै भागबण्डाको सौदावाजी नगरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले सौदावाजीको राजनीति नगर्ने बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान राजनीतिक अवस्थालाई लिएर सत्ता गठबन्धन दलमा गरेको छलफललाई एमालेले राष्ट्रिय सभा निर्वाचनमा सौदावाजीको राजनीति गर्न खोज्यो, एमालेले भाग खोज्यो भनेर गलत तरिकाले प्रचार गरिएको उनको दाबी छ ।
‘राष्ट्रिय राजनीतिका वर्तमान अवस्थालाई ध्यानमा राखेर त्यो अनुसारको गर्न खोजिएको कुरा एउटा अर्थ हुन्छ । भागबण्डाको नाममा भन्ने कुरा गरेर सौदावाजी गर्यो एमालेले भन्ने कोणबाट एमाले त्यस्तो गर्ने पक्षमा छैन, लिँदैन,’– नेता भट्टराईले भने ।
साथै, उनले एमालेले टिआरसी विधेयक छिटोभन्दा छिटो टुङ्गियोस् भन्ने चाहेको बताए । टिआरसी विधेयकलाई लिएर एमालेले कुनै सत्ताको सौदावाजी नगर्ने उनको भनाइ छ । एमाले सर्वोच्च अदालतको फैसला, अन्तराष्ट्रिय मान्यता र पीडितले न्याय पाउने कुराबाट विमुख नभइ शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्छ भन्नेमा प्रष्ट रहेको र त्यसबाट दायाबाँया हुन नसकिने उनले बताए ।
‘एमाले टिआरसी विधेयक छिटोभन्दा छिटो टुङ्गिनुपर्छ, तर त्यसमा सर्वोच्च अदालतले गरेका फैसला, अन्तराष्ट्रिय रुपमा मापदण्ड छ शान्ति प्रक्रिया टुङ्ग्याउने, ती प्रक्रियालाई पूरा गर्ने कुराहरु, जो पीडित छन्, पीडितले न्याय पाउने कुरा दायाबाँया नभइ टिआरसी विधेयक टु्ङ्गिनपर्छ भन्ने हाम्रो मान्यता छ । त्यो मान्यतालाई तलमाथि हुन दिँदैनौं,’– उनले भने । File Photo/RN