Logo

राष्ट्रिय सभा निर्वाचनः गठबन्धनको वैशाखीमा कांग्रेसले गुमायो ७ सिट



काठमाडौं, २२ पुस । सत्तारुढ दलबीच राष्ट्रिय सभा सदस्य निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति भएको छ । आज (आईतबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले भागबण्डा टुङ्ग्याएको हो । आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा (एकीकृत समाजवादी) ले २ र जनता समाजवादी पार्टीले १ सिटमा साझा उम्मेदवार उठाउने भएका छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टीका विभिन्न कार्याक्रममा निर्वाचनअघि गठबन्धन गर्न नहुने बताउँदै आएपनि भागबण्डा टुङ्ग्याउने मिटिङमा उनी आफैं सकृय रहे । राष्ट्रिय सभा निर्वाचनमा दलहरुले एक्लाएक्लै निर्वाचन लड्ने आँट नगर्दा कांग्रेसलाई भने घाटा भएको छ । गठबन्धन दलबाट कांग्रेसले १० सिट पाएपनि दलहरुले एक्लाएक्लै निर्वाचन लड्दा १७ सिट जित्ने देखिन्छ । कांग्रेस कोशी प्रदेशबाहेक सबै प्रदेशमा अगाडि छ । दलहरु एक्लाएक्लै राष्ट्रिय सभा निर्वाचनमा सहभागी भएको भए कोशीमा एमालेले २ सिट र अन्य सबै प्रदेशमा रिक्त हुने १७ सिटमा कांग्रेसको जित सुनिश्चित थियो ।

राष्ट्रिय सभा निर्वाचनमा मतभारको आधारमा पहिलो दल एमाले छ । कोशीमा एमालेको ४ हजार २ सय १० मतभार छ । त्यस्तै, कांग्रेस दोस्रो पार्टी छ । कोशीमा कांग्रेसको ३ हजार ७ सय २२ मत छ । कोशीमा दुई सिटका लागि निर्वाचन हुँदैछ ।

राष्ट्रिय सभा निर्वाचनका लागि मतभारको हिसाबमा कांग्रेस ६ वटै प्रदेशमा अगाडि छ । मधेशमा कांग्रेसको मतभार ३ हजार १ सय ६१ छ । मधेशमा दोस्रो पार्टी एमाले छ । एमालेको मतभार २ हजार ३ सय २ छ ।

त्यस्तै, बागमतीमा कांग्रेसको मतभार ४ हजार १३ रहेको छ । दोस्रो दल एमाले रहेको छ । एमालेको मतभार २ हजार ५ सय ७१ रहेको छ ।

गण्डकीमा कांग्रेसको मतभार २ हजार ७ सय ४ रहेको छ । सो प्रदेशमा दोस्रो दलको रुपमा एमालेनै रहेको छ । एमालेको मतभार २ हजार ४ सय ५८ छ ।

त्यस्तै, लुम्बिनीमा पनि कांग्रेस अगाडि छ । कांग्रेसको मतभार ३ हजार १ सय ७९ छ । सो प्रदेशमा एमाले दोस्रो दल छ । दोस्रो दलको रुपमा रहेको एमालेको मतभार २ हजार ६ सय २० मतभार छ ।

कर्णालीमा पनि कांग्रेस पहिलो दलको रुपमा रहेको छ । कर्णालीमा कांग्रेसको मतभार १ हजार ८ सय ८२ रहेको छ । दोस्रो दलको रुपमा माओवादी केन्द्र रहेको छ । माओवादीको मतभार १ हजार ६ सय १ रहेको छ ।

त्यस्तै, सुदूरपश्चिममा पनि नेपाली कांग्रेसको मतभार अगाडि छ । सो प्रदेशमा कांग्रेसको मतभार २ हजार ३ सय ४१ छ । त्यस्तै सुदूरपश्चिममा मतभारको हिसाबले दोस्रो दल एमालेनै छ । दोस्रो दलको रुपमा रहेको एमालेको मतभार १ हजार ४ सय ८० छ ।

यस आधारमा दलहरुले राष्ट्रिय सभामा एक्लाएक्लै निर्वाचन लड्ने आँट गरेका भए कांग्रेसले १७ सिट जित्ने थियो । सत्तारुढ दलबीच गठबन्धन गरेर जाँदा कांग्रेस १० सिटमा खुम्चिएको छ ।



प्रतिक्रिया दिनुहोस्