काठमाडौं, २३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणलाई व्यवसायीले भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने र विद्योग पनि चल्ने विकल्पमा जानुपर्ने बताएका छन् । आज (सोमबार) उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले प्राधिकरण र व्यवसायी दुवैको हित हुनेगरी उपयुक्त विकल्प खोज्नुपर्ने बताएका हुन् ।
‘ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने, उद्योग पनि चल्ने विकल्पमा जानुपर्छ । संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौं। महान्यायधिवक्ता कार्यालयको राय पनि लिउँ।’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसपछि बक्यौता पनि उठ्ने र उद्योगहरू पनि सुचारू हुने बिकल्पमा जानु राम्रो हुन्छ। त्यसका लागि तपाईहरूले बिकल्प खोजेर समाधान खोज्नेतिर लाग्नुस्।’
व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्क लाईनको बक्यौता भुक्तानी नगरेको भन्दै प्राधिकरणले उद्योगको लाईन काट्ने नीति अपनाएको थियो । ६१ वटा कम्पनीसँग २२ अर्बभन्दा बढि बक्यौता रहेको प्राधिकरणले बताएको छ ।