काठमाडौं, २३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
कोशीमा नेकपा (एमाले) बाट रुकमिणी कोइराला र पर्शुराम अधिकारीले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी, सत्तारुढ गठबन्धन दलहरु नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला र नेकपा (माओवादी केन्द्र) बाट चम्पादेवी कार्कीलाई साझा उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव पौडेलले पनि मनोनयन दर्ता गराएका छन् । कोईराला र कार्कीले महिला क्लाष्टरबाट, सिटौला, अधिकारी र पौडेलले भने अन्य क्लाष्टरबाट उम्मेदवारी दिएका हुन् ।